विराटनगर : राष्ट्रिय प्रजातन्त्र दिवस फागुन ७ गतेको अवसरमा कोशी प्रदेश सरकारद्वारा प्रदेशका महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई सम्मान गरिने भएको छ ।

उनीहरूलाई प्रोत्साहन गर्न प्रदेश राजधानी विराटनगरमा सम्मान गरिने साथै प्रजातन्त्र दिवस फागुन ६ देखी ८ गते तिन दिन सम्म मनाइने प्रदेश सरकारले जनाएको छ ।

शिशु गर्भमा आएदेखि नै गर्भवती र त्यसपछि सुत्केरी महिलाको हेरचाहमा दिनरात खटिने स्वयं सेविकालाई प्रोत्साहन गर्न सम्मान गर्ने तयारी भएको मुख्यमन्त्री केदार कार्कीले बताएका छन् ।

उनले भने, ‘हामी मानवीय विकासमा केन्द्रीय छौँ । गर्भ रहेदेखि नै हेरचाहमा खटिने महिला स्वास्थ्य स्वयं सेविकालाई प्रजातन्त्र दिवसमा प्रोत्साहन र सम्मान गर्दै छौ ।’

प्रदेश सरकारले स्वास्थ्य महिला स्वयंसेविकालाई नगद १५ हजार रुपैयाँ सहित सम्मान गर्न लागेको हो । प्रत्येक जिल्लाबाट एक-एक जनालाई नगद पुरस्कार सहित सम्मान पत्र प्रदान गरिने प्रदेश स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

१४ जिल्लाका १/१ महिला स्वास्थ्य स्वयंसेविकालाई नगद १५ हजार, चाँदीको सिक्काको लोगो, साडी, ब्याग, छाता टर्च लाइट लगायत सामग्री उपलब्ध गराउने मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारले महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रोत्साहन भत्ता पुरस्कृत गर्ने निर्णयले आफूहरू उत्साहित भएको नेपाल महिला स्वास्थ्य स्वयंसेविका सङ्घ कोशी इन्चार्ज रत्ना रिजालले बताइन् ।

स्वयंसेविकाले गरिरहेको दुःखलाई सम्झेर प्रोत्साहन भत्ता र पुरस्कारको व्यवस्थाले अझ जिम्मेवार भएर काम गर्न प्रेरित गर्ने उनको भनाइ छ । उनका अनुसार हाल कोशी प्रदेशमा ६ हजार महिला स्वास्थ्य स्वयंसेविका महिलाले सेवा गर्दै आएका छन् ।