इटहरी : सुनसरीको इटहरीमा शुक्रवार देखि सुरु हुने भनिएको प्रथम जुत्ता-चप्पल व्यापार महोत्सव स्थगित भएको छ । स्थानीय व्यवसायीले विरोध जनाएपछि महोत्सव स्थगित भएको हो ।

स्थानीय व्यापारी व्यवसायीसँग कुनै छलफल र सहकार्य विना महोत्सव आयोजना गर्न लागिएको भन्दै विरोध जनाएका छन् । ‘स्वदेशी उत्पादन प्रवर्धन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सवमा स्थानीय व्यापारीले असन्तुष्टि जनाएका हुन् ।

शुक्रवार दिउँसो उद्योग वाणिज्य सङ्घ इटहरीको भवनमा भएको छलफलले ठोस निर्णय दिन नसकेपछि स्थानीय व्यवसायी इटहरी उपमहानगरपालिकाका मेयर समक्ष पुगेका थिए । मेयर हेमकर्ण पौडेललाई स्थानीय व्यापारीले गुनासो राखेपछि शुक्रवार उद्घाटन हुने तय भएको कार्यक्रम स्थगित गर्न उनले निर्देशन दिएका हुन् ।

मेयर पौडेलको प्रमुख आतिथ्यतामा हुन लागेको उद्घाटन कार्यक्रम कहिले हुने यकिन भएको छैन । स्थानीय व्यापारी व्यवसायीलाई धेरै असर पर्ने भएकाले महोत्सव बन्द गर्नुपर्ने उनीहरूको अडान छ ।

सुनाइटेड लेदर सुजका सञ्चालक सरोज कार्की महोत्सवले स्थानीय व्यापारमा भारी गिरावट आउने बताउँछन् । मेयर पौडेलसँग छलफल भएपछि महोत्सवको कार्यक्रम स्थगित भएको उनले जानकारी गराए ।

यसअघि फागुन ११ गते देखि चैत १५ गतेसम्म (३५) दिन इटहरीको पश्चिम लाइनमा महोत्सव चल्ने कार्यक्रम तय भएको थियो । महोत्सवका संयोजक होमनाथ उपाध्यायका अनुसार मेयर पौडेलबाट हाललाई स्थगित गर्न आदेश आएको कारण आज हुने भनिएका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको हो । महोत्सव सञ्चालन गर्ने तर कहिले देखी सुरु गर्ने भन्ने विषयमा छलफलपछि निर्णय हुने उनको भनाइ छ ।

२० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहने महोत्सवमा नेपालका १० वटा कम्पनीले उत्पादन गरेका १५ भन्दा बढी ब्रान्डका जुत्ता चप्पल राखिने भएको हो । महोत्सवमा रोयल सुज, बीएफ डियर हिल सुज, क्रशरोड सुज, फस्ट वाक सुज र डिजे सुज उपलब्ध रहेको उपाध्यायको भनाइ छ । महोत्सव अवधिभरमा करिब ३ लाखले अवलोकन गर्ने र २ करोड बराबरको कारोबार हुने अनुमान आयोजकको छ ।