विराटनगर : महानगरमा कतै आगलागी भई हाले तत्काल ३ हजार लिटरको दमकलको पानी ट्याङ्की १२ मिनेटमा भरेर घटनास्थल हुइँकिन सकिने देखिएको छ । ५ हजार लिटरको ट्याङ्की भर्न २० मिनेट लाग्ने देखिएको छ ।

विराटनगर महानगरपालिकाले आगलागी भइहाले बजार र दक्षिणी क्षेत्रलाई लक्षित गरी प्रभावकारी ढङ्गमा नियन्त्रण गर्न सनसारी माईस्थानमा स्थापना गरेको डिप बोरिङ वेलको परीक्षणमा उक्त समयावधि लाग्ने देखिएको हो ।

मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा शुक्रवार बिहान दुई वटा दमकलबाट परीक्षण गरिएको छ । डिप बोरिङबाट ५ हजारको ट्याङ्की भर्न २० मिनेट र ३ हजार लिटरको ट्याङ्की भर्न १२ मिनेट लागेको थियो ।

बजार र दक्षिणी क्षेत्रमा आगलागी भएमा सो स्थानबाट दमकलमा पानी भर्ने गरी डिप बोरिङ गरिएको मेयर कोइरालाले बताए । यसअघि बजार र दक्षिणी क्षेत्रमा आगलागी हुँदा पानी भर्न महानगर कार्यालय परिसर र पुष्पलाल चोक पुग्नुपर्ने बाध्यता थियो ।

अब सनसारी माइस्थानबाट पानी भर्ने व्यवस्था मिलाइएको हो । मेयर कोइरालाले अरू ठाउँमा पनि डिप बोरिङ जडान गर्ने तयारी गरिएको बताए । सुख्खा मौसम सुरु भएसँगै आगलागीको जोखिम बढ्ने गरेको छ । आगलागी नियन्त्रणको पूर्व तयारी स्वरूप दमकलमा पानी भर्न सहज होस् भनेर पायक पर्ने स्थानहरूको छनौट गरिएको उनको भनाई छ ।

अब बजार क्षेत्रमा आगलागी भइहाले समयमै नियन्त्रण गरी क्षति न्यूनीकरण गर्न मद्दत पुग्ने उपमेयर शिल्पा निराला कार्कीले विश्वास व्यक्त गरिन् । समयमै पानी भरेर दमकल घटनास्थल पुग्दा क्षति कम हुने कार्कीको भनाइ छ ।

डिप बोरिङको क्षमता वृद्धि गरी छोटो समयमै दमकल भर्ने व्यवस्था मिलाइने महानगर प्रहरीका प्रमुख राजन पौडेलले बताए । पुष्पलाल चोक स्थित वारुणयन्त्रको डिप बोरिङबाट ५ हजार लिटरको ट्याङ्की भर्न ५ मिनेट र महानगर परिसरको डिप बोरिङबाट २० मिनेट समय लाग्ने गरेको उनले बताए ।

ठाउँ-ठाउँमा डिप बोरिङ गरी आगलागी नियन्त्रणको पूर्व तयारी गरेर महानगरले निकै नै प्रशंसनीय कार्य गरेको स्थानीय सहदेव यादवको भनाई छ । उनले भने, ‘हेर्दा र सुन्दा सामान्य लागे पनि विराटनगरवासीका लागि महानगरले धेरै नै महत्त्वपूर्ण कार्य गरेको छ ।’