विराटनगर : विराटनगरमा आगलागीका घटना भएमा दमकलका लागि तत्काल आगो निभाउन चाहिने पानी नजिकमा उपलब्ध गराउन महानगरपालिकाले वैकल्पिक ठाउँमा पनि डिप बोरिङ वेलको व्यवस्था गरेको छ ।

यसअघि जहाँसुकै आगलागी भएपनि दमकलले पानी लिन पुष्पलाल चौक र महानगरपालिका परिसर पुग्नु पर्ने अवस्था थियो । तेस्रो डिप बोरिङ वेल सन्सारी माइस्थानमा पनि व्यवस्था गरिएको हो ।

डिप बोरिङ वेलको काम भइरहेको स्थलमा उपस्थित मेयर नागेश कोइरालाले शुक्रवार भने, ‘बजार र दक्षिणी क्षेत्रमा आगलागी भएमा तत्कालै पानी भर्न सहज होस् भनेर पायक पर्ने स्थानमा डिप बोरिङ गरिएको हो ।’

उनका अनुसार बजार क्षेत्रमा आगलागी भए दमकल पानी भर्न पुष्पलाल चोक पुग्नुपर्ने बाध्यता थियो । त्यहाँ पानी भरेर आएको दमकल पानी सकिएपछि फेरि भर्न पुष्पलाल चोक नै पुग्नुपर्थ्यो ।

अब बजार र दक्षिणी क्षेत्रमा हुने आगलागीका घट्नामा पानी सकिने बित्तिकै सनसारी माईस्थानमा आएर दमकलले पानी भर्नेछ र घटनास्थलमा पुगेर आगो नियन्त्रण गर्न सहज हुनेछ । उनले अरू ठाउँमा पनि डिप बोरिङ जडान गरिने बताए ।

सन्सारी माईस्थानको डिप बोरिङबाट ५ हजार लिटर क्षमताको दमकल भर्न २० मिनेट लाग्नेछ । पुष्पलाल चोकको डिप बोरिङबाट ५ हजार लिटरको दमकमल भर्न ५ मिनेट र महानगर परिसरमा रहेको डिप बोरिङले दमकल भर्न ३५ मिनेट लाग्ने गरेको नगर प्रहरीका प्रमुख राजन पौडेलले बताए ।

उनका अनुसार बजार क्षेत्रमा आगलागी हुँदा दमकलमा पानी भर्न निकै समस्या भएकाले सन्सारी माईस्थानको खाली जमिनमा डिप बोरिङ जडान गरिएको हो । महानगरको विराटनगर-१४ मा पनि डिप बोरिङ गर्ने योजना छ ।

deep boring well 2