विराटनगर : महानगरमा कार्यरत गैरसरकारी संस्थाहरूका अभियन्ताहरूलाई क्षमता अभिवृद्धि गर्न प्रस्ताव एवं प्रतिवेदन लेखन तालिम दिइएको छ ।

गैसस महासङ्घद्वारा आयोजित २ दिने तालिममा विराटनगरमा सञ्चालित गैससका ५० जना प्रतिनिधिहरू सहभागी थिए ।

सोमवार समापन कार्यक्रममा प्रमुख अतिथि विराटनगरका मेयर नागेश कोइरालाले महानगरपालिका नपुगेको ठाउँमा गैससहरू पुगेर जनताको सेवा गर्ने गरेको उल्लेख गर्दै महानगरपालिका सबै वडा र टोलमा नपुग्न सक्छ, त्यहाँ गैससले आफ्ना गतिविधि पुराउनु पर्नेमा जोड दिए ।

गैसस मोरङकी अध्यक्ष विष्णु शर्मा पन्तले महानगरपालिकाको गैरसरकारी संस्थासँगको सहकार्य उल्लखनिय रहेको बताइन् ।

विराटनगर जेसीजका पूर्व अध्यक्ष सेवक बजगाईँले प्रशिक्षार्थीहरूलाई प्रस्तावना र प्रतिवेदन लेखनसम्बन्धी तालिम दिएका थिए । गैसस मोरङकी सचिव सरिता खनालले गैससको गतिविधि बारे जानकारी दिइन् ।