धरान : धार्मिक स्थल पाथीभरा मुक्कुमलुङमा केबलकार निर्माण भएमा तीर्थस्थलको मौलिकता सँगै यातायात व्यवसायलाई प्रत्यक्ष प्रभाव पर्ने भएकोले ताप्लेजुङका यातायात व्यवसायीहरू विरोधमा उत्रिएका छन् ।

दर्जन बढी यातायात कम्पनीका स्थानिय व्यवसायीहरूले शनिवार संयुक्त वक्तव्य प्रकाशित गर्दै केबलकार खारेजी आन्दोलनमा ऐक्यबद्धता जनाउँदै यातायात व्यवसायलाई प्रत्यक्ष प्रभाव पार्ने स्थानीयको माग विपरीत केबलकार ल्याइएमा जस्तो सुकै सङ्घर्ष गर्ने चेतावनी दिएका हुन् ।

वक्तव्यमा ‘मुक्कुमलुङ क्षेत्रमा केबलकार बनाउँदा प्रत्यक्ष रूपमा यातायात व्यवसायीहरूलाई प्रभाव पार्ने भएको हुँदा उक्त क्षेत्रमा केबलकार बनाउनु नहुने’ धारणा सार्वजनिक गर्दै ‘दैनिक हजारौँ श्रद्धालु भक्तजनलाई सेवा दिँदै आएको यातायात व्यवसाय एउटा निजी कम्पनी, सीमित व्यक्तिको स्वार्थपूर्तिका लागि धराशायी गर्न नहुने कुरा उल्लेख छ ।

केबलकारले मुक्कुमलुङमा दर्शन गर्ने मौलिक धार्मिक, सांस्कृतिक विशेषता आस्था नष्ट गर्ने कुरामा ध्यानाकर्षण गराउँदै वक्तव्यमा विभिन्न समुदायका आस्थाको केन्द्र पाथीभरा मुक्कुमलुङको दर्शन, पूजा अर्चना गर्न जाँदा माथिल्लो फेदी कान्छी थानदेखि भक्तजनले पूजा गरेर धागो टाङ्दै जाने परम्परा भएको उल्लेख छ ।

केबलकार बनेको अवस्थामा यो विधि र पद्धति समाप्त हुनेछ । पाथीभरा मुक्कुमलुङ दर्शनको सार्थकता पनि हुने छैन । भक्तजनले आफ्नो मनोकामना पूरा हुने अनुभूति लिने छैनन् भन्दै वक्तव्यमा पाथीभरा मुक्कुमलुङ मुख्य स्थल सम्म पुग्ने धार्मिक, सांस्कृतिक र परम्परागत मान्यता केबलकारले समाप्त गर्ने कुरा उल्लेख गरिएको छ ।

केबलकार बनेपछि कम्पनीले आफ्नै यातायात नेटवर्क बनाउने, केबलकार सम्म पुग्ने मुक्कुम्लुङ दर्शन प्याकेजको व्यापार गर्ने भएकोले त्यसको प्रत्यक्ष प्रभाव निजी यातायात सेवालाई पर्ने व्यवसायीहरूले बताएका छन् ।

केबलकार कम्पनीको आफ्नै होटेल क्यान्टिनले एकलौटी व्यापार गर्दा ताप्लेजुङको स्थानिय यातायात व्यवसायी, साना होटेल, रेस्टुरेन्ट पसलहरू सबै विस्थापित हुने अवस्था आउने उनीहरूले बताएका छन् ।

संयुक्त वक्तव्यमा मेवा ताप्लेजुङ यातायात प्रालि, हिमाल यातायात, सयपत्री यातायात, सुपर साइनो यातायात, पूर्वाञ्चल यातायात, आसियाना यातायात, छिन्ताङ यातायात, सुनसरी यातायात, हातेमालो यातायात, पूर्वाञ्चल स्मार्ट यातायात, पाथीभरा यातायात, मेची सुपर यातायातका व्यवसायीहरूले हस्ताक्षर गरेका छन् ।

mukkumlung cable car birodh bigyapti