इटहरी : सुनसरीको हरिनगरा गाउँपालिकामा हिन्दु मुस्लिम द्वन्द्व बढ्दै गएको छ । फेसबुक पोस्ट मार्फत सुरु भएको विवाद चर्किँदै गएपछि द्वन्द्व बढेको हो ।
स्थानीय जीवन मेहताले हिन्दु माथि गाली गर्ने बेधर्मीहरूको कुरान जलाउनुपर्ने भन्दै टिप्पणी गरेपछि विवाद चुलिएको हो । मेहता बिहीबार बहिनिलाई स्कुलबाट लिन श्री बालकृष्ण मावि हरिनगरा १ भुटाहा पुग्दा सोही विषयलाई लिएर निर्घात कुटपिट भएको हो । हाल मेहताको धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
मेहतालाई कुटपिट गरेपछि शुक्रवार हिन्दु समर्थित दस्ता बजरङ्ग दल र हिन्दु सम्राट् सेनाले मुस्लिम प्रति आक्रमण अगाडि बढाएको हो । बिहानैदेखि सुरु भएको दुई पक्षीय विवादले द्वन्द्वको रूप लिएको हो ।
झडपको क्रममा पुरानो हरिनगरा गाउँपालिकाको कार्यालयमा क्षति पुगेको छ । प्रहरीले झडप नियन्त्रणमा लिन हवाई फायर गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी विपिन रेग्मीले भीडलाई तितरबितर पार्नका लागि हवाई फायर गरिएको बताए । स्थलगत रूपमा प्रहरी परिचालन भएकाले कति राउन्ड हवाई फायर गरिएको भन्ने यकिन नभएको उनको भनाइ छ ।
भीड एकदमै अनियन्त्रित भएकाले हवाई फायर र अश्रुग्याँस प्रयोग गरिएको रेग्मीले जानकारी दिए ।