धरान : रामधुनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालले सरकारी तलब बाहेक नगरपालिकाबाट मासिक थप २५ हजार रुपैयाँ लिने गरेको आरोप लागेको छ ।
माओवादीले मङ्गलवार सार्वजनिक महत्वको सूचना माग गर्दै नगर प्रमुख शंकरलाल चौधरी, प्रमुख प्रशासकीय अधिकृत ढकालसँग मागेको १५ सूत्रीय माग पत्रमा आरोप लगाएको हो ।
माओवादी केन्द्र रामधुनीले सूचनाको हक प्रयोग गर्दै लिखित निवेदन मार्फत प्रमुख प्रशासकीय अधिकृत ढकालले स्थानीय सरकार सञ्चालन ऐन २०७४ विपरीत करारमा कर्मचारी राखेको, शिक्षक सरुवा गर्दा ३ देखि ५ लाख कमिसन माग्ने गरेको भन्ने कुरा सार्वजनिक भएको बारेमा जानकारी माग गरेको छ ।
१५ दिनभित्र जवाफ दिन अनुरोध गर्दै माओवादी नगर इन्चार्ज दिनेश चौधरी, प्रदेश सल्लाहकार राजेन्द्र पौडेल, नगर अध्यक्ष बलराम चौलागाईँ लगायतले सूचना माग गर्दै निवेदन दर्ता गराएका हुन ।
निवेदनमा प्रमुख प्रशासकीय अधिकृतले सङ्घीय सरकारको तलब बाहेक नगरपालिकाबाट निर्णय गराएर छुट्टै मासिक २५ हजार रुपैयाँ सुविधा लिने कानुनी आधार र मापदण्ड के हुन भनी सोधिएको छ । आर्थिक वर्ष २०८०/०८१ मा आर्थिक सहयोग लिने व्यक्ति, संस्थाको नामावली, मापदण्ड माग गरेको छ ।
नगरपालिका र वडा कार्यालयमा सङ्घीय सरकारबाट स्वीकृत दरबन्दी हाल स्थायी, अस्थायी, करार र ज्यालादारी कर्मचारीको विवरण मागिएको छ ।
नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत चढ्दै आएका ३ ओटा गाडीमा भएको मर्मत खर्चको जानकारी मागिएको छ । 
जनप्रतिनिधि र कर्मचारीबाहेक अन्यलाई वितरण गरिएका इन्धनको परिमाण र वितरणका आधार तथा मापदण्ड माग गरिएको छ । 
नगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूका सम्पत्ति जग्गा, भवन प्रतिस्पर्धाको आधारमा भाडामा नलगाउनु लगाए पनि बजार मूल्यभन्दा कममा मनपरी लाउने गरेको बारेमा सोधिएको छ ।
शिक्षक सरुवा गर्दा विद्यालय व्यवस्थापन समिति र नगरपालिका शिक्षा शाखाको मिलेमतोमा ३ देखि ५ लाखसम्म कमिसन माग्ने गरेको बारेमा सत्य कुरा सार्वजनिक गर्न माग गरिएको छ ।suchana-1maobadi suchanaSuchana-2