धरान : धरान खेलकुद मञ्चको शनिवार भएको दोस्रो अधिवेशनबाट अध्यक्ष पदमा किशोर राई सर्वसम्मत चयन भएका छन् । अधिवेशनले उनको अध्यक्षतामा २५ सदस्य कार्यसमिति गठन पनि सर्वसम्मतीबाट निर्वाचित गरेको छ ।

धरान क्रियाशील खेलकुदका सबै विधाहरूको प्रतिनिधित्व भएको कार्यसमितिमा अध्यक्ष राईले फुटबलबाट प्रतिनिधित्व गरेका हुन् । समितिको वरिष्ठ उपाध्यक्ष शारीरिक सुगठनबाट प्रेम प्रकाश लिम्बु रहेका छन् ।

चार जना उपाध्यक्षहरूमा सितारियो करातेबाट कुवेरमान गुरुङ, जुडोबाट रोशनी राई, भलिबलबाट डम्बर लिम्बु, आर्चरीबाट हिमाल लिम्बु रहेका छन् । शारीरिक सुगठनबाट विक्रम लिम्बु महासचिव चयन भएका छन् ।

सह महासचिवमा उसुबाट बिकी राई, कोषाध्यक्षमा सितोरियो करातेबाट समुना लिम्बु चयन भएकी छन् । सदस्यहरूमा बुद्धिचालबाट मोहन मगराती, ब्याडमिन्टनबाट देवेन्द्र खड्का, गल्फबाट लोकमान लिम्बु, तेक्वान्दोबाट सुरज कार्की रहेका छन् ।

यस्तै शारीरिक सुगठनबाट धर्म तामाङ, बास्केटबलबाट वसन्त राई, टेबल टेनिसबाट गीता थापा मगर, फुटबलबाट नवीन राई र सुरज घिमिरे, सेपाकताक्रोबाट सन्तोष लोहोरुङ राई, साइक्लिङबाट प्रताप तामाङ एवं मोहन पाण्डे रहेका छन् ।

अधिवेशनले कार्यसमितिमा कुरास र प्यारागाईडिङ सहित छुटेका विधाबाट सदस्य थपिने गरी कुल २५ सदस्यीय रहने कार्यसमिति चयन गरेको हो ।

अधिवेशनमा प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपमेयर आईन्द्रविक्रम बेघाले धरान खेलकुदको शहर मानिँदै आए पनि समग्र खेलकुदलाई समन्वय गर्ने मञ्च क्रियाशील नदेखिएको बेला मञ्चको नयाँ कार्यसमिति गठन खुसीको कुरा भएको बताए ।

उनले भने ‘मञ्चले धरानमा क्रियाशील खेलहरूको विकास, प्रोत्साहन र क्रियाशीलताका लागि मञ्चले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरेको छु ।’ उनले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिए ।

नवनिर्वाचित अध्यक्ष किशोर राईले प्रतिबद्धता प्रकट गर्दै खेलकुद क्षेत्रको व्यवसायीकरण प्रवर्द्धन, विकास, समृद्धि र संरक्षणका लागि मञ्चले प्राथमिकता दिएर आफ्नो भूमिका अघि बढाउने बताए ।

उनले भने ‘खेलकुदको व्यवसायीक विकासलाई अवरुद्ध गर्ने जुनसुकै तहका राज्यशक्तिहरुबाट आउने चुनौतीको सामना गर्दे खेलकुद र खेलाडीको हितका लागि मञ्च अघि बढ्नेछ ।’

उनले धरानमा क्रियाशीलता खेलकुदका अल्पकालीन, दीर्घकालीन, तत्कालीन आवश्यकता योजनाको खाका तयार गरेर तिनै तहको सरकारलाई दबाब दिने बताए । उनले भने ‘धरानलाई खेलकुदको शहर भन्ने तर सोच र हिम्मत नराख्ने निकायलाई खबरदारी गर्दै खेलकुदको आवश्यकता अनुसार बजेट विनियोजन गराउन मञ्चको पहिलो प्राथमिकता हुनेछ ।’

उनले धरान उपमहानगरपालिकाले अव्यवहारिक हेपाहा नीतिले खेलकुदलाई पछि धकेल्ने काम हुन लागेको बताए । धरान उपमहानगरपालिकाको खेलकुद बजेट विनियोजन र कार्य विभाजनप्रति उनले आपत्ति जनाए ।

उनले भने ‘धरान खेलकुदको शहर भन्न चैँ रुचाउने धरान उपमहानगरपालिकाले हेपाहा मानसिकता देखाएर खेलकुदका जिल्ला देखि केन्द्र तहका पदाधिकारी धरामा हुँदा पनि छलफलमा नबोलाई बजेट विनियोजन गरेर खेलकुदलाई अवमूल्यन गरेको छ ।’

धरान खेलकुद मञ्चले प्रतियोगिता र प्रशिक्षण गराउने भन्दा खेलकुदको विकास, समस्या, अभावका सवालहरूमा खबरदारी गर्दे आवश्यकता अनुसार बजेटका लागि तिनै तहको सरकारलाई दबाब दिने काममा केन्द्रित हुने उनले बताए ।

मञ्चले धरानबाट खेलकुदका विभिन्न विधामा राष्ट्रिय, अन्तर्राष्ट्रिय पदक हासिल गर्ने खेलाडीलाई आर्थिक भौतिक सुविधा सुविधा तथा पुरस्कार सम्मान प्रदान गर्ने अध्यक्ष राईले प्रतिबद्धता जनाए ।

२०६७ सालमा विधिवत् दर्ता भएको धरान खेलकुद मञ्चका अध्यक्ष राजेशमान श्रेष्ठको सभापतित्वमा दोस्रो अधिवेशन भएको हो । उनले २०१७ साल देखी धरानले राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक हासिल गरेका बताउँदै धरानको खेलकुदको इतिहास तयार गर्न र समग्र खेलकुदलाई एउटा मञ्च प्रदान गर्ने अवधारणबाट फोरम स्थापना भएको बताए ।

अधिवेशन उद्घाटनको अवसरमा संस्थापक सचिव विक्रम लिम्बु, प्रदेश खेलकुद विकास बोर्ड सदस्य रोशनी राईले खेलकुद मञ्चको भूमिकामा प्रकाश पारेका थिए । अधिवेशनमा वरिष्ठ पत्रकार हर्ष सुब्बाले सर्वसम्मतीबाट निर्वाचित कार्य समितिको घोषणा गरेका थिए ।

kishor rai adyaksha