वराहक्षेत्र : गाउँमा मोटर बाटोसँगै चारपाङ्गे गाडी आउन थालेपछि सिलपाखाका स्थानिय ७१ वर्षीय बालकुमार राई मक्ख छन् । गाउँमा मोटर गाडी ल्याउन उनी गत मङ्सिरमा नगर प्रमुख रमेश कार्कीसँगै श्रमदान कार्यमा समेत सहभागी भएका थिए । गाउँमा मोटर बाटो आएपछि वराहक्षेत्र मन्दिरसम्म पुग्न सहज भएको छ । थापलोमा र पिढिउमा बोकेर खाद्यन ढुवानी र पैदल हिँडेर जानूपर्ने स्थानीयहरूको समस्या सदाको लागि अन्त्य भएको छ ।

वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित बाक्सिङटार र सिलपाखा गाउँमा पहिलो पटक मोटर बाटो पुगेको हो । गाउँमा मोटर बाटो पुर्‍याउन ट्र्याक खोल्ने कार्यमा गत मङ्सिरमा नगर प्रमुख कार्की सहित जनप्रतिनिधिहरू श्रमदान अभियानमा समेत लागि परेका थिए । नगर प्रमुख कार्कीको श्रमदान अभियान पछि नगरपालिकाले १० लाख र वडा कार्यालयले ४ लाख गाउँमा बाटो पुर्‍याउन ट्र्याक खोल्न बजेट विनियोजन गरेको थियो ।

हालसम्म मोटर बाटो नपुगेको बाक्सिङटार र सिलपाखा टोललाई वराहक्षेत्र मन्दिर स्थित तमोर कोरिडोरबाट मोटर बाटोले जोडन ट्र्याक खोल्ने कार्य सम्पन्न भएको उक्त बाटो निर्माण उपभोक्ता समितिकी अध्यक्ष सरिता राईले बताइन् । गाउँमा पहिलो पटक बाटो आएपछि स्कुल जाने विद्यार्थी, कृषि गर्ने किसानसँगै बिरामीहरूलाई अस्पताल लैजान एम्बुलेन्स लगायतका साधनहरू गाउँमा आउन थालेको उनले बताइन् । हाल चारपाङ्गे मोटर, ट्याक्टर, ट्याम्पो लगायतका साधन गाउँमा आउन थालेका छन् । यश अगाडि गाउँसम्म आउने कुनै मोटर बाटो नहुँदा बाक्सिङटार र सिलपाखाका स्थानीयहरू पैदल हिँडेर वराहक्षेत्र मन्दिरसम्म आउनु पर्ने बाध्यता रहेको राईले बताइन् ।

बाक्सिङटार र सिलपाखा गाउँमा रहेको ३० घरको वर्षौँदेखिको समस्या बुझेर पहिलो पटक मोटर बाटो पुग्दा धेरै खुसी लागेको बाक्सिङटारका स्थानीय भक्त राई बताउँछन् । बाक्सिङटार र सिलपाखामा बाटो ल्याउन नगर प्रमुख रमेश कार्की र वडाध्यक्ष किसन मगरले महत्त्वपूर्ण योगदान रहेको स्थानिय राईले बताए । नगरपालिका र वडा कार्यालयको बजेटसँगै नगर प्रमुख कार्की र वडाध्यक्ष मगर समेत बाक्सिङटार र सिलपाखामा मोटर बाटो ल्याउन श्रमदानमा समेत सहभागी भएको उनी बताउँछन् ।

दुई टोलमा गरेर करिब ३० घर रहेको उक्त गाउँ वराहक्षेत्र नगरपालिको सिरानमा रहेको छ । वराहक्षेत्र मन्दिरबाट करिब ३ किलोमिटरको दुरीमा रहेको उक्त गाउँमा मोटर बाटो पुग्दा स्थानीयहरूलाई ठुलो राहत मिलेको नगर प्रमुख रमेश कार्कीको भनाई छ । गाउँमा मोटर बाटो पुर्याउने नगरपालिकाको योजना अनुसार काम भएको उनी बताउँछन् ।

साबिक वराहक्षेत्र गाविस वडा नं ९ को पुरानो गाउँ भएपनि मोटर बाटो अहिलेसम्म गाउँमा नपुगेका कारण धेरै कुराको असुविधा भएको र स्थानीहरूको असुविधालाई मध्यनजर गरेर गाउँमा मोटर बाटो पुर्‍याएको नगर प्रमुख कार्कीले बताए ।

मोटर बाटो पुगेपछि विद्यालय जान, अस्पताल जान, गाउँमा उत्पादन भएका कृषि उत्पादन बिक्री गर्न मोटर बाटोले सहज बनाएको छ । पुरानो गाउँ बाक्सिङटार र सिलपाखामा पहिलो पटक मोटर बाटो पुगेपछि स्थानीयहरू मक्ख भएका छन्  ।