विराटनगर : सहकारीप्रति सर्वसाधारण बचतकर्ताको नकारात्मक धारणा बढेको बेला महानगरका सहकारीहरूका लेखा प्रणाली दुरुस्त राख्न लेखा तथा पल्र्स तालिम सुरु गरिएको छ ।

तालिममा ३५ सहकारीका १/१ जना लेखा कर्मचारी सहभागी छन् । महानगरपालिकाको क्षेत्राधिकारभित्र १७३ वटा सहकारी सञ्चालनमा रहेका छन् ।

तालिम महानगरपालिका सहकारी शाखाको आयोजनामा मङ्गलवारदेखि सुरु भएको हो । ५ दिने तालिममा सहभागीहरूलाई ह्रास कट्टी, जोखिम ऋण व्यवस्थापन, तिर्नुपर्ने रकम, ब्याज मुल्तबी, अन्तिम मालशेष, पाउनुपर्ने रकम, कारोबारको सम्पुष्टि र तयारी विधि, मुख्य खाता, सहायक खाता र प्रयोजनगत लगतहरू बारे तालिम दिइने छ ।

महानगरपालिका सहकारी शाखाकी रोजी कार्कीका अनुसार उनीहरूलाई अन्तिम खाता, पल्र्सको उपयोग, पल्र्सको परिचय, पल्र्सको महत्त्व, वित्तीय सहकारीमा यसको उपयोगिता लगायतका विषयमा प्रशिक्षण दिइने छ ।

तालिममा सहकारी विज्ञ रामचन्द्र गौतम र लक्ष्मी सापकोटाले सहजीकरण गरिरहेका छन् ।

तालिम आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले उद्घाटन गरे । कार्यक्रममा वडा १९ का अध्यक्ष रहेका घिमिरेले पछिल्लो समय सहकारीप्रति आम सर्वसाधारणको नकारात्मक धारणा बन्दै गएको बताए ।

उनले केही सहकारीका कारण समग्र सहकारीमाथि नै जनताको अविश्वास बढ्दै गएको चर्चा गर्दै लेखा प्रणाली चुस्त दुरुस्त राख्न सकिए सहकारीमा हुने हिनामिना र अपचलन रोक्न सकिने बताए ।

सहकारी सङ्घ मोरङका अध्यक्ष डिल्ली पोखरेलले नेपालको अर्थतन्त्रमा सहकारी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताए । रोजगारी सिर्जना, ग्रामीण क्षेत्रसम्म वित्तीय पहुँच पुराउन सहकारीको अहम् भूमिका रहेको उनको भनाई छ ।

सहकारी बैङ्क विराटनगर शाखाका प्रमुख चिरञ्जीवी तिम्सिना, नेफ्स्कुन शाखा अध्यक्ष लक्ष्मणप्रसाद अधिकारीले शुभकामना प्रकट गरे ।