वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं ७ स्थित चक्रघट्टी-चतरा सडक खण्ड अन्तर्गत धिमाल चौकदेखि सोमवारे चौकसम्मको सडक सौन्दर्यीकरण सहित नमुना सहरी सडक निर्माणको काम सुरु भएको छ ।

वराहक्षेत्र नगरपालिकाको कार्यालय र सङ्घीय सरकारको सहरी विकास परियोजनाको साझेदारीमा उक्त नमुना सडकको काम भइराखेको वडा नं ७ का अध्यक्ष कपिल आचार्यले बताए । उक्त योजना ठेक्का प्रक्रियाबाट निर्माण भइराखेको छ ।

सङ्घीय सरकारबाट नयाँ सहर बनाउने योजना अन्तर्गत वराहक्षेत्र नगरपालिका प्राथमिकता परेको उक्त योजना अनुसार धिमाल चौकदेखि सोमवारे चौकसम्मको ४ सय मिटर सडक सौन्दर्यीकरणका सहित सहरी सडकको रूपमा विकास हुन लागेको वडा अध्यक्ष आचार्यले बताए । उक्त योजनाका लागि प्रतिनिधि सभा सदस्य माननीय ज्ञानेन्द्रबहादुर कार्की र नगर प्रमुख रमेश कार्कीले पहल कदमी गरेको उनको भनाई छ ।

४ सय मिटर निर्माण हुने उक्त नमुना सहरी सडक बिचमा डिभाइडर गरेर ७/७ मिटर गरी दुई लेनको सडक हुनेछ, फुटपाथ, साइकल लेन सहित सिसी टिभी र सोलर बत्ती समेत सडकमा जडान हुने नगर प्रमुख रमेश कार्कीले बताए ।

उक्त सडकले सौन्दर्यीकरण सहित सहरी सडकको रूप लिए पछि सोमवारे बजार, ढिकझोडा क्षेत्रमा हुने चहलपहल र सौन्दर्यीकरणले बजार क्षेत्र राम्रो देखिने स्थानीय सप्तकोशी युवा क्लबका अध्यक्ष ज्ञानु लिम्बू बताउँछन् ।