धरान : ब्राउन सुगर ओसार पसार गरेको आशङ्कामा चेकजाँच गर्दा प्रहरी माथि नै आक्रमण गरेकोले बिहीबार साँझ सुनसरीको रामधुनी-६ ईचौलमा २ जनालाई प्रहरीले गोली हानी ब्राउन सुगर सहित पक्राउ गरेको कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

पक्राउ गरिएकामा सप्तकोसी नगरपालिका-५ सप्तरीका ३५ वर्षीय श्यामसुन्दर खंग र इटहरी-५ का ४० वर्षीय श्याम प्रसाद निरौला छन् । प्रहरीको गोली प्रहार गर्दा पिँडुलामा लगेका खंगको घाइते अवस्थामा लागि घाइते भएको सान्वी सिटी अस्पताल लविपुरमा उपचार भइरहेको छ ।

प्रहरीले १ राउण्ड गोली चलाएर २१० ग्राम ७३० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

लागुऔषध नियन्त्रण ब्युरो काठमाडौँ र इलाका प्रहरी कार्यालय पकलीको संयुक्त टोलीले शङ्कास्पद अवस्थामा उनीहरूलाई चेक जाँच गर्दा प्रहरी माथि नै आक्रमण गरेकोले प्रतिकारमा गोली प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको छ ।