धरान : खोटाङ साकेला गाउँपालिका-५ कि ज्ञानुका दाहाल नेपाल प्रहरीको प्राविधिक तर्फ प्रहरी निरीक्षक भइन् । प्रहरी सेवामा भर्ना भएसँगै हर्षित छिन् ज्ञानुका । उनी सँगै उनको परिवारमा खुसीको उचाइ झनै चुलिएको छ ।

ज्ञानुकाको सफलतालाई पर्खिरहेका बुबा नारायण प्रसाद आमा पवित्रादेवीलाई आनन्दको सीमा छैन । परिवारकै कान्छी छोरी ज्ञानुका हाल तालीममा थप मेहनत गरिरहेकी छिन् ।

उनका दिदी दाजु, भाउजु र भिनाजु सबै सरकारी सेवामै छन् । परिवारका सबै सदस्य सरकारी सेवामा लागेपछि धेरै आनन्द भएको नारायण प्रसाद बताउँछन् । स्व.बालाकृष्ण दाहाल र स्व. वेदमाया दाहालका २ छोराका ६ जना नातिनातिना सरकारी सेवामा प्रवेश भएको उनले बताए ।

उनका अनुसार ठुली छोरी शोभा दाहाल सङ्घीय निजामती सेवामा शाखा अधिकृत पदमा नाम निकालेर कोसी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा कार्यरत छिन् । शोभाका श्रीमान् उमेश भट्टराई नेपाल विद्युत् प्राधिकरण, विराटनगर वितरण केन्द्रमा सहायक लेखापाल पदमा कार्यरत छन् ।

नारायण प्रसादका छोरा बाबुराम दाहाल स्थानीय सरकारी सेवा अन्तर्गत धरान उपमहानगरपालिकामा प्रशासन महाशाखामा कार्यरत छन् भने बुहारी सुनिता भट्टराई धरानकै सामुदायिक विद्यालय श्री भगवती आधारभुत विद्यालय धरान-१६ मा नि.मा. शिक्षक हुन् ।

सिभिल इन्जिनियरिङमा मास्टर्स उत्तीर्ण गरेकी माइली छोरी सरला दाहाल सडक विभागमा कार्यरत छिन् । सरलाका श्रीमान् मनोज चौँलागाई पेसाले सिभिल इन्जिनियर हुन् । उनको आफ्नै निजी कन्स्ट्रक्सन र ट्रेडिङ कम्पनी छ ।

नारायण प्रसादका भतिज विपिन दाहाल प्रा.वि. शिक्षक पदमा नाम निकालेर ओखलढुङ्गामा सिफारिस भएका छन् ।  कान्छो भतिज निरोज दाहाल हाल नेपाल विद्युत् प्राधिकरण धनकुटा वितरण केन्द्रमा सुपरभाइजर पदमा काम गरिरहेका छन् । नारायण प्रसाद आफैँ नेपाल न्याय सेवामा सरकारी वकिल (मुख्य न्यायाधिवक्ताको कार्यालय, विराटनगर) मा कार्यरत छन् ।

युवाहरूको बिदेसिने लहर चलिरहँदा छोराछोरीहरू आफ्नै देशमा बसेर राष्ट्र सेवामा लागेपछि आनन्द महसुस भएको नारायण प्रसादले बताए । सरकारी सेवामा जीवन चलाउन सहज हुने र सँगसँगै जनताको सेवा गर्ने र देश भ्रमणको अवसर मिल्ने उनको भनाइ छ ।

सरला दाहाल भन्छिन्  ‘गाउँमा सानैदेखि सरकारी सेवामा छिर्ने लहर थियो, घरमा पढ्दा पनि सरकारी जागिर नै भए राम्रो हुन्छ भन्ने कुरा हुन्थ्यो । परिवारको सपना र हाम्रो मेहनत जोडियो केही मात्रामा सफल भएको महसुस गरेका छौँ ।’ 

Dahal-Family-KapuriNews-2