इटहरी : नेपाल प्रेस युनियन कोसी प्रदेश समितिले कपुरी न्यूजका प्रधान सम्पादक हर्ष सुब्बा सहित ५ जना अग्रज पत्रकारलाई  सम्मान गरेको छ । जीवनको लामो समय लोकतान्त्रिक व्यवस्थाको पैरवी गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनमा योगदान गरे बापत सम्मानित भएका हुन् ।

बिहीबार विराटनगरमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइरालाले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरे । सुब्बा सहित गोविन्द क्षेत्री, गिरिराज आचार्य, भारती उपाध्याय र कृष्ण आचार्यलाई  सम्मान गरिएको हो ।

प्रेस युनियनको ३३ औँ स्थापना दिवसका उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना भयो । विराटनगरको महेन्द्र चोकबाट होटेल मनास्लुसम्मको दुई हजार चार सय मिटर दौड सम्पन्न भएको थियो ।

 दौड प्रतियोगितामा पुरुषतर्फ कपिलेश्वर यादव प्रथम भए । त्यस्तै अनन्तराम चौधरी र सुरेश भट्टराई क्रमशः  द्वितीय र तृतीय भएका थिए । महिलातर्फ इन्दु साह प्रथम भइन भने माला पालुङवा द्वितीय, जानुका नेपाल तृतीय र सुशीला पाठक चौथो भइन ।

सम्मान र पुरस्कार वितरण पछि बोल्दै डाक्टर कोइरालाले सञ्चार क्षेत्रमाथि हुने आक्रमण कुनै सह्य नहुने बताए । नेपाली काँग्रेस प्रेस स्वतन्त्रताको पक्षमा सदैव रहने विचार व्यक्त गर्दै सत्यको बाटो कठिन भए पनि अन्तिममा सत्यको जित हुने विचार व्यक्त गरे ।

सम्मानित भएपछि बोल्दै सुब्बाले पत्रकारिता चुनौतीको पेसा भए पनि स्थानीय र सतहका समाचार सम्प्रेषण गर्नुपर्ने बताए । पछिल्लो समय मूलधारका मिडियाले प्रतिष्ठित र केन्द्रीय स्तरको मात्र सामाग्री सम्प्रेषण गरेको कारण आम जनताको भरोसा गुमेको उनको भनाइ छ । पत्रकारितामा भविष्य बनाउन र यस क्षेत्रलाई टिकाउन भुइँमान्छेका स्टोरीले स्थान पाउनुपर्ने धारणा राखे ।

giriraj-acharya