धरान : सामाजिक सञ्जालमा मानिसको शव जलाएको कोइलामा सेकुवा पोलेर बेच्नेलाई प्रहरीले नियन्त्रणमा लिएको भन्ने पोष्ट झुटो भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी कृष्ण भण्डारीले भने ‘फेसबुकको कुरा हल्ला मात्र हो, प्रहरीले त्यस्तो घट्नामा कसैलाई पक्राउ गरेकै छैन ।’

फेसबुकमा धरान र तरहराका होटेल व्यवसायीले शवदाह गरेको कोइलामा सेकुवा पोल्ने गरेको भनी गरिएको पोष्ट भाइरल भएको छ । पोस्टमा सुनसरी प्रहरीले त्यस्तो कोइला बिक्री गर्नेहरूलाई नियन्त्रणमा लिएको कुरा उल्लेख भएकोले जिल्ला प्रहरीमा सम्पर्क गर्दा उक्त पोष्ट निराधार हल्ल मात्र भएको बताइएको हो ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी भण्डारीले भने ‘‘यो हल्ला मात्र हो र हल्ला फैलाउनेलाई अनुसन्धान गरी कारबाही गर्छौ ।’ उनका अनुसार अहिलेसम्म त्यस्तो घटनाको खबर आएको छैन, कसैलाई पक्राउ पनि गरिएको छैन ।

सामाजिक सञ्जालमा भाइरल बनेको पोस्टको खण्डन गर्दै धरान-१५ बगरकोटका होटेल व्यवसायी सुगम राईले भने ‘आजसम्म बागरकोटमा कसैले त्यस्तो गतिविधि गरेको छ जस्तो लाग्दैन । हामी पनि सचेत छौँ । कसैले सत्य खोज्दैन, हल्लालाई पछ्याउँछन्। ।’

यसअघि धरानमा गोरुको सुकुटी बिक्री हुने हल्लाका कारण सुकुटीको व्यवसायमा ठुलो गिरावट आएको थियो । अहिले सेकुवाको बिक्री प्रभावित हुने हल्ला चलाइएको राईले बताए ।

यसअघि कोइला बेच्नेहरूले शव जलाएको कोइला सङ्कलन गरी बिक्री गर्ने गरेको समाचार आएको थियो । धरान-१४ खत्रीधारा स्थित शवदाह स्थलको कोइला स्थानीय होटेल व्यवसायीले किनेर सेकुवा र मकै पोल्ने गरेको हल्ला चलेको थियो ।

निकै समय पछि अहिले फेरि त्यस्तै हल्ला सामाजिक सञ्जालमा भाइरल भएकोले प्रहरीले यस्ता कुराबारे अनुसन्धान गरिरहेको डिएसपी भण्डारीले बताए । 

उनले भने ‘हामीले बेवास्ता गरेका छैनौँ, हल्ला हुनु सामान्य हो, तर यस्ता घटना नहोस् भनेर हामीले निगरानी गरिरहेका छौंं ।’