शिवसतक्षी : कोशी प्रदेशका एक मन्त्रीले सेकुवा हाउस उद्घाटन गर्दा व्यंगात्मक रूपमा आलोचना गर्ने तथा त्यसलाई हाँसो विषय बनाउनेहरूलाई मुख्यमन्त्री केदार कार्कीले तार्किक जवाफ दिएका छन् ।

उनले सेकुवा हाउस सञ्चालनले स्थानिय आर्थिक गतिविधि, रोजगारी सिर्जनाका साथै आय आर्जनमा वृद्धि हुने काम गरेको बताउँदै भने, ‘आय आर्जन गर्ने त्यस्तो हरेक रोजगारीका कामलाई प्रदेश सरकारले प्रोत्साहित गर्छ ।’

झापाको शिवसताक्षी-३ पाराबारीमा आइतबार आयोजित मुख्यमन्त्रीसँग जनता संवाद कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । मुख्यमन्त्री कार्कीले लोककल्याणकारी प्रदेश निर्माणका लागि भौतिक विकासलाई भन्दा मानवीय विकासलाई प्राथमिकतामा राखेर सरकारले काम अघि बढाएको बताए ।

मानवीय विकास र आर्थिक गतिविधिलाई प्रोत्साहित गर्न गाउँ, ठाउँका ससाना कुरामा पनि मन्त्री, मुख्यमन्त्री पुग्नु पर्ने भएकाले सेकुवा हाउसको उद्घाटन गरेको कुरा खिशीट्युरीको विषय नभएको उनको भनाई थियो ।

मन्त्री मात्र होइन मुख्यमन्त्री सम्म वडाको मात्र नभई टोलटोल र घरघरका सदस्यहरूको समेत पहुँच हुनुपर्ने मान्यताका साथ जनतासँगको संवादमा आएको उनले बताए ।

मुख्यमन्त्री कार्कीले प्रश्न गरे, "साना सडक, मन्दिर र सामुदायिक भवनको योजना काटेर १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार गर्नु अपराध हो ?"

प्रदेशका गाउँ र टोलका मन्दिर, सामुदायिक भवन, साना सडक लगायतका २५ लाख मुनिका योजना काटेर १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार, विराटनगरमा शैलेजा आचार्य हृदय रोग केन्द्र विराटनगरको सञ्चालन जस्ता काम गरेका उनले बताए ।

आर्थिक अभावमा उच्चशिक्षा चिकित्सक, इन्जिनियर, वकिल, विज्ञान, व्यवस्थापन र प्रत्येक पालिकाका एक जनालाई पशु र एक जनालाई कृषि प्राविधिक अध्ययनका लागि छात्रवृतिको व्यवस्था गरिएको उल्लेख गर्दै मुख्यमन्त्रीले पुनः प्रश्न गरे के त्यो अपराध भयो ?

उनले भने, ‘यदि अपराध भयो भने होस, विपन्न गरिबको पनि प्रदेश हो भन्ने स्थापित गराउँछु ।’

संवाद कार्यक्रममा प्रदेश सांसद राधाकृष्ण खनाल, शिवसताक्षी-३ वडाध्यक्ष भास्कर न्यौपाने लगायतले प्रदेश सरकारले साना योजना कटौती गरेको भन्दै गुनासो गरेका थिए ।

स्थानीयवासीले आफ्ना टोल, समुदायमा आवश्यक योजनाहरू मुख्यमन्त्री कार्कीलाई लिखित रूपमा बुझाएका थिए ।

Mukhyamantri karki 2 1

Mukhyamantri karki 3 1