- अनुसा थापा
नयाँ गठबन्धन सहित बन्ने एमाले-काँग्रेसको सरकारलाई जनताले ठुलो घट्नाका रूपमा लिएका छैनन् । सत्ताको स्वार्थले बन्ने बिग्रिने गठबन्धनबाट वाक्क जनताले काँग्रेस एमाले सत्तामा हुँदा गरेका काण्डहरू भने आउँदो चुनावमा सवालको रूपमा उठाउने भने निश्चित छ । विगततर्फ फर्किएर हेर्दा त्यो स्वाभाविक पनि हो ।
२०७८ असारमा तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार खारेज गरी पाऊँ भनी नेपाली काँग्रेस सहित साना दलहरूले सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । सर्वोच्चका तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले ०७८ असार २८ गते उक्त रिटउपर फैसला सुनाउँदै ओली नेतृत्वको सरकारलाई बर्खास्त वा खारेज गरिदिए ।
त्योसँगै ओलीको प्रधानमन्त्री पद गयो । सोही वर्षको असार २९ गते नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ खाए । पछि काँग्रेस नेतृत्वकै सरकारले तत्कालीन प्रधानान्यायाधीश जबरालाई महाअभियोग लगाए र उनलाई नजरबन्दमा राखियो । आफ्नो स्वार्थका लागि त्यतिखेरको सरकारले प्रधानान्यायाधीशलाई नै नजरबन्दमा राख्यो ।
किनकि भ्रष्टाचार र सार्वजनिक-सरकारी सम्पत्तिको दुरुपयोगमा विभिन्न दलका नेताहरू मुछिएका थिए । उनीहरूले आफू जेल जानुपर्ने भएपछि प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाए । अहिले पनि शेरबहादुर देउवाकी पत्नी आरजु राणा नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल जाने भएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढाल्न तयार भए ।
यता, ओली पनि आफूलाई झापास्थित गिरिबन्धु टु स्टेटको जग्गा प्रकरणमा जोगाउन प्रचण्ड सरकार ढाल्न तयार भएका हुन् । अहिले काँग्रेस ओलीलाई प्रधानमन्त्री बनाउन तयार छ । आफूले गरेका काण्ड वा भ्रष्टाचार लुकाउन कहिल्यै न्यायाधीशलाई नै नन्जरबन्दमा राख्ने त कहिल्यै संविधान, ऐन, कानुन नै नमानी जस्तोसुकै सम्झौता गरिहाल्ने ।
०७९ मङ्सिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन भयो । कोहीले काँग्रेसलाई भोट हाले, कोहीले एमाले त कोहीले माओवादी, एकीकृत समाजवादी, रास्वपा, राप्रपालगायतलाई मतदान गरे । जनताले फरक फरक पार्टीलाई भोट हालेका थिए । तर, अहिले यी पार्टी आफ्नो स्वार्थका लागि गाँसिएका छन् । अहिले सर्वसाधारण भन्छन्, ‘आरजुलाई बचाउन काँग्रेस एमालेको अगाडि लम्पसार पर्यो र गिरिबन्धुमा बच्न ओलीले यो चाल खेले ।’
विडम्बना, ओलीलाई प्रधानमन्त्री बनाउनुहुन्न भनेर काँग्रेसभित्र विरोध गर्ने एक जना पनि छैनन् । आरजुलाई पनि कानुनको दायरमा ल्याउनुपर्छ भनेर काँग्रेसमा कोही बोल्न सक्दैनन् । ओली नेतृत्वको ०७८ वैशाख ७ र १३ गतेको मन्त्रिपरिषद् बैठकले गिरिबन्धुको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने निर्णय गरेको थियो । यो कानुनकै दुरुपयोग हो । कानुनमा सरकारी/सार्वजनिक जग्गा व्यक्तिको नाममा पास गर्न वा दुरुपयोग गर्न नपाइने व्यवस्था छ ।
तर, यस विरुद्ध एमाले वा अन्य राजनीतिक दलका नेताहरू केही बोल्न सक्दैनन् । अहिले काँग्रेस र एमाले मिलेर नयाँ सरकार गठन गर्न लागिएको छ । काँग्रेसले भ्रष्टाचार वा विभिन्न काण्डमा मुछिएकालाई नै मन्त्री बनाउने तयारी गरेको छ । आरजु, रमेश लेखकहरू मन्त्री बन्ने तयारीमा छन् । रमेश लेखक यसअघि पनि पटकपटक मन्त्री भइसकेका छन् । मन्त्री हुँदा उनले देश र जनताका लागि केही गरेनन् ।
नेपालको राजनीतिक परिवर्तनमा आरजुको कुनै योगदान छैन । उनी जनताले चुनेर पठाएको जनप्रतिनिधि पनि होइन । तर, काँग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा यसको विरोध गर्न सक्दैनन् । यता, काँग्रेसका लोकप्रिय नेता डा.शेखर कोइराला र शंशक कोइराला पनि केही बोल्दैनन् । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लैजानेमा माधव नेपाल र बाबुराम भट्टराई हुन् भनेर जनतालाई स्पष्ट थाहा छ ।
ललिता निवासको आठ आना जग्गा सेटिङ्ग मिलाएर एमाले नेता विष्णु पौडेलले आफ्नो छोराको नाममा पास गरेको पनि प्रस्टै छ । अहिले एमालेबाट मन्त्री हुनेमा विष्णु पौडेल र योगेश भट्टराईको नाम आइरहेको छ । भट्टराईले यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुँदा धेरै भ्रष्टाचार गरेको बताइन्छ । उनको काठमाडौँमा मात्र चार-पाँच वटा आलिसान घर रहेको सुनिएको छ ।
नेताले कसरी झुक्क्याउँछन् भनेर जनताले पनि बुझ्नुपर्छ । ०७९ सालको निर्वाचनमा गगन थापाले काठमाडौँ क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएपछि जनताको घरदैलोमा भोट माग्न जाँदा भने, ‘मलाई मतदान गर्नुस् । यो क्षेत्रले प्रधानमन्त्री पाउँछ ।’ उनी ०७० सालदेखि लगातार यही क्षेत्रबाट चुनाव जित्दै आएका थिए । थापाको क्षेत्र कपन वा सरस्वती नगर बर्खामा पानी पर्नासाथ डुबानमा पने गर्थ्यो ।
घरघरमा पानी पस्थ्र्यो । गएको साउनमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) ले त्यहाँ खोलामाथि बनाइएको घर भत्काइदिए र खोलालाई बग्न दिइयो । यो पटक सबैभन्दा धेरै वर्षा भएको छ । र, हुने क्रम जारी नै छ । तर, यस पटक कपन डुबेन । यत्रो पानी पर्दा देशभरका विभिन्न जिल्लाका विभिन्न ठाउँ डुबानमा पर्दा सानो पानी आउँदा समेत डुब्ने कपन यो पटक डुबेन ।
गगन थापाले आफ्नो क्षेत्रमा खोलामाथि बनाइएको घर हटाउन सकेनन् तर देशको प्रधानमन्त्री हुन्छु भन्दै भाषण गर्न भ्याए । उनी ०७० सालमै त्यस क्षेत्रको सांसदमा निर्वाचित भएका थिए । बर्खामा कपनवासीलाई निकै सास्ती हुँदै आएको थियो । यदि उनले सांसद हुनासाथ त्यहाँ खोला अतिक्रमण गरेर बनाएको संरचना हटाएको भए आज उनको चारैतिर वाहवाह हुन्थ्यो ।
तर, उनले त्यस्तो केही काम गरेनन् । उल्टै देशको प्रधानमन्त्री बन्छु भन्दै सर्वसाधारणलाई भ्रममा पारे । अहिले कपनवासी निकै खुसी छन् । बालेनको कामको तारिफ गरेर उनीहरूलाई भ्याइनभ्याइ छ । ओली ०७४ फागुल्न ३ गते प्रधानमन्त्री बने । त्यतिखेर नेपालको विदेशी ऋण सात खर्ब थियो । ०७८ असार २८ गतेसम्म प्रधानमन्त्री भएका उनले त्यतिखेरसम्म विदेशी ऋण १९ खर्ब पुर्याइदिए ।
उनले विदेशीसँग ऋण लिँदै आफ्नो र महेश बस्नेतको क्षेत्रमा मात्र अर्बौँ बजेट खन्याए । प्रधानमन्त्री हुँदा ओली पटकपटक बिरामी भए । उनलाई कहिले उपचारका लागि विदेश पुराइन्थ्यो त कहिले मुलुककै महँगा अस्पताल । ओलीको उपचारमा मात्र जनताले तिरेको खर्बौँ कर सकिएको छ । ओलीले प्रधानमन्त्री हुँदा एमालेबाटै चुनाव जितेर आएका अन्य सांसदलाई समेत बजेट दिएनन् ।
यता, एमाले-माओवादी गठबन्धनबाट माओवादीबाट निर्वाचित जुम्लाका सांसद गजेन्द्रबहादुर महत त आफ्नो क्षेत्रमा बजेट नदिइएको भन्दै सदनमै रोए पनि । अहिले पनि एमालेमा ओलीको विरोधमा बोल्न सक्ने कोही छैन । अहिले देशको अलिअलि बाँकी भएको सरकारी-सार्वजनिक जग्गा पनि काँग्रेस र एमालेले मिलेर बेच्ने भएका छन् । सरकारी-सार्वजनिक जग्गा मात्र होइन यिनीहरूले कुनै दिन आफ्नै देश पनि बेच्ने छन् ।
यता, कोही पनि काँग्रेस-एमालेको विरोधमा बोल्न पनि नहुने । भ्रष्टाचार फाइल पनि खोल्न नदिने । गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचार २५ वटा फाइल खोल्ने बताएसँगै रातारात सरकार परिवर्तन भयो । जेलमा बस्नुपर्ने आरजु र ओली फेरि पनि मन्त्री, प्रधानमन्त्री बन्ने भएका छन् । त्यसैले, अब सर्वसाधारण पनि निहुरिएर हिँड्नुपर्ने भएको छ ।
हिजो यस्ता भ्रष्टाचारी, सामन्तीहरूलाई लखेट्न प्रचण्डले जनयुद्धको सुरुवात गरेका थिए अब जनताले जनयुद्ध सुरु गर्नुपर्छ । नभएसम्म यस्ता व्यक्तिहरूले जनता त लुट्ने नै छन् सँगै राज्यलाई समेत सकाउने छन् । अहिले जनता दलका कार्यकर्ता भएका छन् । त्यसैले, यिनीहरू भ्रष्टाचारी हुन् भनेर जनता पनि खुलेर बोल्न सक्दैनन् । अब सर्वसाधारण दलको कार्यकर्ता होइन आफ्नो मातृभूमिको रक्षक बन्नुपर्छ । राज्य र जनताको सम्पत्तिमाथि मोजमस्ती गर्ने यिनीहरूलाई देशबाटै खेद्नुपर्छ ।
हिजो हामी मिल्दै मिल्दैनौँ भन्ने काँग्रेस-एमाले आगामी चुनावमा कुन मुख लिएर जनताको घरमा भोट माग्न जान्छन् । अनि जनताले पनि किन यिनीहरूलाई भोट दिने ? अहिले भ्रष्टाचारका काण्ड लुकाउन मिलेका काँग्रेस-एमालेको यसको परिणाम आगामी निर्वाचनमा देख्नेछन् ।