इटहरी : इटहरी उपमहानगरपालिकाको बजेट पास भएपछि एमाले भित्र असन्तुष्टि र आन्तरिक समस्या बढ्दै गएको छ । केन्द्रीय सदस्यहरू जगदीश प्रसाद कुसियैत र तयब हुसैनको सक्रियतामा बजेट जस्ताको त्यस्तै पास गर्ने सहमति भएपछि स्थानीय नेताहरू रुष्ट भएका हुन् ।

एमालेले सानो आकारको बजेट ल्याउन माग गरिरहेको बेला केन्द्रीय नेताहरूले जस्ताको त्यस्तै पास गर्न निर्देशन दिएपछि लफडा चुलिएको छ । एमाले भित्र आन्तरिक विवाद बढिरहेको बेला मेयर हेमकर्ण पौडेल भने आफ्नो मुद्दामा सफल भएका छन् ।

३ अर्ब ५७ करोड ८४ लाख ५० हजारको बजेट पेस गरेको इटहरी उपमहानगरपालिकाले ९६ करोड आन्तरिक आय प्रक्षेपण गरेको छ । असार १० गते वडा अध्यक्ष दिवस पोखरेलद्वारा प्रस्तुत विनियोजन विधेयक र अर्थ विधेयकमा नेकपा एमाले सम्बद्ध जनप्रतिनिधिले भने असन्तुष्टि देखाएका थिए । बजेट प्रस्तुत गर्ने समयमा बहिष्कार गरेका एमालेको सम्पूर्ण नगरसभा सदस्यहरू ३० गते बोलाइएको बैठकमा समेत विरोध जनाएर उपस्थित भएनन् ।

तर असार मसान्तमा बजेट पास गर्नैपर्ने व्यवस्था अनुसार ३१ गते बोलाइएको बैठकमा भने एमाले विभाजित भएका देखा पर्‍यो । एमाले भित्रको विभाजन वडा देखि टोल स्तरसम्म पुगेको छ । स्थानीय नेताहरू आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

उपमेयर सङ्गीता चौधरी सहित वडा नम्बर ३, ९, १० र १५ नम्बरका वडाध्यक्षले अन्तिम समयसम्म विरोध जनाएर सभामा अनुपस्थित रहे । बाकी वडाध्यक्ष तथा बहुमत नगरसभा सदस्यहरूले समर्थन गरेपछि बहुमतले बजेट पास भएको हो ।

केन्द्रीय सदस्य तयब हुसैनले वडाध्यक्षहरूलाई बोलाएर नगर कमिटीले टिकट नदिएको बताउँदै केन्द्रको निर्देशन मान्न चेतावनी दिए । नगर कमिटीले औपचारिक रूपमै निर्णय गरेर यथार्थपरक बजेट ल्याउन माग गर्दै आएको थियो । सोही विषयमा वडा अध्यक्षहरूले प्रश्न गर्दा हुसैनले केन्द्रले दिएको निर्देशन अनुसार अगाडि बढ्न आग्रह गरे ।

उपमेयर सङ्गीता कुमारी चौधरीले बजेटको आकार घटाउन अडान लिइरहेको बेला वडा नम्बर १६ का वडा अध्यक्ष तेज नारायण चौधरीको अगुवाइमा एमालेलाई लचक बनाउन मेयर पौडेल सफल भए ।

वडा अध्यक्ष चौधरी आफैले पौडेल र केन्द्रीय सदस्यहरूसँग छलफलको वातावरण मिलाएको एमाले नेताहरू बताउँछन् । इटहरी पश्चिम लाइन (भाटभटेनी नजिकै) को दरबार होटेलमा कार्यपालिका सदस्यलाई बोलाएर केन्द्रीय सदस्य मार्फत दबाब बढाएका हुन् । एक स्थानीय नेताले वडा अध्यक्ष चौधरीले होटेलको बिल तिर्न समेत मेयरलाई आग्रह गरेको दाबी गरेका छन् ।

विभिन्न ९ बुँदे सहमति भएको जानकारी आएपछि यसअघि विरोध जनाउँदै आएका कार्यपालिका सदस्य तथा वडा अध्यक्षहरू नै बजेट पास गर्न हतारिएका थिए । वडा नम्बर १७ का अध्यक्ष प्रभात आचार्यले सहमतिको ड्राफ्ट तयार पारेर वातावरण बनाएको बताइएको छ । तर कतिपय सहमति स्थानीय सरकारको जिम्मेवारी घटाउने खालको भएकाले अन्तिम बुँदामा कानुन बाझिएमा लागू नहुने उल्लेख गरिएको छ ।

होटेलको छलफलमा उपमेयर चौधरीले बारम्बार नेतृत्व समक्ष बिन्ती गरेर यथार्थपरक बजेट ल्याउन आग्रह गर्दा समेत कुनै सुनुवाइ नभएपछि उनी निरीह बनिन् । वर्तमान बजेटले इटहरीको विकासमा नकारात्मक प्रभाव पार्ने र आर्थिक अराजकता बढाउने उनको बुझाई छ । राजस्व परामर्श समिति, श्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति र बजेट तर्जुमा समितिको बैठकको निर्णय पछि कार्यपालिकाबाट अनुमोदन नभई बजेट ल्याइएको उनले बताइन् । अदालत नै जानेसम्मको चेतावनी दिएकी उनी पार्टी नेतृत्वको असहयोग र कार्यपालिका सदस्यहरूको विभाजनले लज्जित अवस्थामा पुगेको गुनासो गर्छिन् ।

इटहरी उपमहानगरपालिकाको नगर सभामा र कार्यपालिकामा नेकपा एमालेको भारी बहुमत छ । कार्यपालिका र नगरसभामा बहुमत रहेको एमालेको समर्थन विना बजेट पास नहुने भएपछि मेयर पौडेलले केन्द्रीय नेतृत्व मार्फत सहमति जुटाएका हुन् ।