धरान : नगर प्रमुख हर्क साम्पाङले मौखिक रूपमा बोलाए पनि औपचारिक पत्र लेखेर वार्ताको प्रस्ताव नगरे सम्म वृद्धि गरिएका खानेपानीको शुल्क, महसुल खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएका १० दल वार्तामा नजाने भएका छन् ।
खानेपानी कार्यालयको ताला हिजो बुधवार खोलेर धरान उपमहानगरपालिका कार्यालय केन्द्रित आन्दोलनमा उत्रिएका दलहरूले आज बिहीबार ६ घण्टा लामो तनावपूर्ण धर्ना समापनमा आन्दोलन जारी रहने जनाएका हुन ।
समापनमा जसपाका अध्यक्ष ताजुब लिम्बुले भने ‘हचुवाको भरमा दश दल वार्ता गर्न जाँदैन ।’ उनले नगर प्रमुखले लिखित रूपमा दलहरूलाई वार्ताका लागि औपचारिक आग्रह गरेमा वार्तामा बस्नु सकिने बताए ।
उपमहानगरपालिका र खानेपानी व्यवस्थापन बोर्ड फरक निकाय भएको बताउँदै उनले भने ‘हामी दलहरूले शुल्क र महसुल वृद्धि खारेज गर्नुपर्ने माग खानेपानी बोर्डसँग राखेर आन्दोलन गरेका थियौँ ।’
तर नगर प्रमुख साम्पाङले ताला खुलाउन उपमहानगरपालिकाबाट अदालत पुगेर खानेपानी बोर्डको विषयलाई जबरजस्ती उपमहानगरपालिकामा मिसाएको स्पष्ट गर्दै भने ‘त्यस कारण दलहरूको आन्दोलन उपमहानगरपालिका कार्यालय केन्द्रित भएको हो ।’
उनले खानेपानी बोर्डले वृद्धि गरेको शुल्क र महसुल खारेज नभए सम्म आन्दोलन जारी रहने बताए । काँग्रेस सभापति श्याम पोखरेलले भोली देखीको आन्दोलनको कार्यक्रम १० को बैठक बसेर सार्वजनिक गरिने जानकारी दिए ।
यसअघि तनावपूर्ण धर्नास्थल सुरक्षाकर्मीको कब्जामा रहेको उपमहानगरपालिको गेटसम्म आएर भित्रबाट नगर प्रमुख हर्क साम्पाङले खानेपानी बोर्डले वृद्धि गरेको शुल्कका बारेमा वार्ता गर्न १० दलका १/१ जना नेताहरूलाई आइतबार वार्तामा बस्न मौखिक रूपमा बोलाएका थिए ।
विद्यार्थीमा भएको प्रहरी दमनको माफी मागियो
धर्नामा सहभागी विद्यार्थी माथि प्रहरीले निर्मम तरिकाले लाठी प्रहार गरी घाइते भएकोमा नगर प्रमुखले माफी माग्नु पर्ने अडान लिएपछि धर्ना साँझ ६ बजे सम्म लम्बिएको थियो ।
प्रहरीलाई संयमित हुन दलहरूले आग्रह गर्दागर्दै प्रहरीले महेन्द्र बहुमुखी क्याम्पस बिए चौथो सेमेष्टरका विद्यार्थी विक्रम परियार माथि निर्मम लाठी प्रहरी गरी घाइते बनाएको थियो ।
लाठी प्रहारसँगै धर्ना तनावग्रस्त बन्यो । विद्यार्थीहरूले नगर प्रमुख साम्पाङ लिखित माफी नमागे सम्म धर्ना जारी रहने उद्घोष गर्दै गेटमा धर्ना बसेर आन्दोलनको नेतृत्व लिएका थिए ।
लिखित माफीको पत्र लेख्न मेयर साम्पाङ सहमत भए । पत्रमा भाषा र शब्द नमिलेको भन्दै ३ पटक सम्म पत्रको ब्यहोरा संशोधन गर्न लगाइएको थियो । विद्यार्थीहरूले शुल्क खारेज गर्न छुट्टै ज्ञापन पत्र दिएर आन्दोलनमा सहभागी हुने घोषणा पनि गरिएको छ ।
नगर प्रमुख बिहानै कार्यालय प्रवेश गरे
दलहरूले धर्ना कार्यक्रम कार्यालय समय सुरु हुनु पूर्व बिहान साढे ९ बजे राखेका थिए । नगर प्रमुख साम्पाङ त्यस अघि नै प्रवेश गरेका थिए । दलहरूले कर्मचारी लगायत नगर प्रमुखलाई प्रवेशमा रोक लगाउने प्रयास गर्दे कार्यालय समय भन्दा अगावै आन्दोलन सुरु गरेका हुन ।
शान्तिपूर्वक धर्ना बसेका दलका कार्यकर्ता विद्यार्थीले नाराबाजी गरेका थिए । उनीहरूले स्वघोषित बोर्ड अध्यक्ष राजीनामा दे, मूल्यवृद्धि फिर्ता गर, अवैधानिक र अव्यवहारिक मूल्य वृद्धि फिर्ता गर, 'नालायक मेयर राजीनामा दे' जस्ता नारा लगाई रहेका थिए ।
नगर प्रमुख साम्पाङले आफै प्रचार गरे
बाहिर प्रमुख साम्पाङ विरुद्ध नाराबाजी भइरहेको बेला भित्र कार्यकक्षमा बसेर प्रमुख आफैले फेसबुकमा आफू विरुद्ध लागिरहेको नाराबाजीलाई स्ट्याटसमा प्रचार गरिरहेका थिए । उनले ‘हेर्नुस् दलहरूको विरोध’ भन्दै धर्नामा भइरहेको विरोध प्रदर्शनको भिडियो क्लिप राखेका हुन ।
धराने युवाहरूको नाममा फेरी तालाबन्दी
धराने युवाहरूको नाममा फेरी धरान खानेपानी व्यवस्थापन बोर्डका ३ बिल काउन्टरमा ताला लगाइएको छ । बिहीबार पुनः ११, १६, १५ नम्बरको बिल काउन्टरमा ताला लगाएको कुरा एक विज्ञप्ति पर्चा मार्फत सार्वजनिक जानकारी गराइएको हो ।
विज्ञप्तिमा राजनैतिक दल तथा सरोकारवालाहरूले गरिरहेका आन्दोलनहरूलाई नजिकबाट नियालिरहेको बताउँदै आन्दोलन धरानवासी जनताहरूको हितमा रहेको बुझाइ रहेको उल्लेख गर्दै भनिएको छ ‘पछिल्लो समय दल तथा सरोकारवालाहरूले राखेका माग साथै खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोगले दिएको निर्देशन समेत खानेपानी व्यवस्थापन बोर्डले नमानेको जानकारी प्राप्त भएको छ ।’
वक्तव्यमा खानेपानी व्यवस्थापन बोर्डले आम नगरवासीको भावना बुझ्ने र माथिल्लो निकायको निर्देशन पालना नगरी अवज्ञा गर्ने र बोर्डलाई विधि पूर्वक सञ्चालन गर्ने तर्फ ध्यान नदिएको हुँदा हामी आम धरानवासी युवाहरूको तर्फबाट पुरानै महसुल दर कायम नभए सम्म खानेपानीका महसुल काउन्टरहरूमा अनिश्चित कालिन तालाबन्दी गरिएको जानकारी दिएका छन् ।