धरान : खानेपानीको शुल्क ९९०० प्रतिशत सम्म वृद्धि गरेको दाबी गर्दै १० दलहरूले विरोधमा आन्दोलन गरिरहेको बेला धरान-१६ को एक उपभोक्ताको खानेपानीको बिल करिब ५० लाख रुपैयाँको आएको पाइएको छ ।
धरान-१६ साँगुरी मार्गकी सितादेवी डाँगीको निजी धाराको नाममा ४९ लाख ९९ हजार २ सय रुपैयाँको पानीको बिल काटिएको छ ।
बोर्डले साउन १२ गते डाँगीको नाममा बिल काटेको हो । बिलमा हालको युनिट ९९ हजार ९ सय ९९ सय उठेको छ भने खपत बिल पनि ९९ हजार ९ सय ९९ सय बिलमा रहेको छ ।
बिलमा मिटर स्ट्याटसमा मिटर उल्टो घुमेको भनेर देखिएको छ भने सर्दु जलाधार संरचना शुल्कको नाममा ५ थप गरी जम्मा तिनुपर्ने रकम ४९ लाख ९९ हजार २ सय ५ रुपैयाँ बिल रकम रहेको छ ।
सेवाग्राही डाँगीसँग सम्पर्क गर्दा उनले भनिन ‘रिपोर्ट गर्न बिल लिएर बोर्ड कार्यालय जाँदा त्यहाँको कर्मचारीहरूले बिल खोसेर राख्दै, बिल सच्याउने बताएका छन् ।’
बिल नै कर्मचारीहरूले उतै राखेको कारण बिल आफूसँग नभएको उनले बताइन । उनले भनिन ‘बिल सचिन्छ भनेका छन्,पर्सी फेरी जान्छु ।’ उनले कर्मचारीले मिटर उल्टो घुमेर त्यस्तो आएको हो तुरुन्त बिल सच्याउँदै मिटर रिडर नयाँ बिल लिएर आउने बताएको बताइन् ।
यसअघि उनको बिल सामाजिक सञ्जाल फेसबुकमा भाइरल रहेको छ । सामाजिक सञ्जालमा एउटै बिलबाट एडिबीको ऋण तिर्ने गरी खानेपानी बोर्डले बिल काटेको हो ? भनेर चर्को विरोध भइरहेको छ ।
फेसबुकमा धरान-१० का वडाध्यक्ष विवेक राईले कुन पानी खुवाएछ हौ ? यत्रो बिल महसुल ४९९९२००।९ उनन्चास लाख उनान्सय हजार दुई सय रूपैया को ? मिनेरल वाटर कि ड्रिडकिङ वाटर हो ? भनी प्रश्न गर्दै रु.५ चैँ जलाधार संरक्षणको रे बाफ्रे भनेका छन् ।
धरान-१३ का घनश्याम बुढाथोकीले भनेका छन् कति पानी चलाउँदा ४९ लाख ९९ हजार २ सय रुपैयाँ बिल आउँछ कृपया मिटर रिडरहरुले जानकारी गराइ दिनु होला ?
नेकपा एमाले नगर अध्यक्ष हर्क जङ्ग एभेङले ‘धरानमा के हुन लाग्यो ? कति साह्रो लापरबाही ? भन्दै स्ट्याटस पोष्ट गरेका छन् ।
प्राविधिकहरू अनुसार मिटर उल्टो घुम्दा खपत घटेर रकम पनि घट्नु पर्नेमा ‘मिटर उल्टो घुमेर रकम बढेको’ भन्ने कस्ता कर्मचारी रहेछन् भनी प्रश्न गरेका छन् ।