धरान : कुनै बेला यौन व्यवसायको चर्चामा आउने केही होटलहरुका कारण धरान सहरको नाम बदनाम भएको भन्दै सामाजिक दबाब परेपछि व्यवसायीहरूबाट त्यसलाई निरुत्साहित गरिएको थियो । मर्यादित व्यवसायको लागि प्रहरी प्रशासनले पनि अनुगमन बढाएकाले धरानमा यौन व्यवसाय नियन्त्रित थियो ।

पछिल्लो समय भने बढ्दो सहरीकरण, नयाँ व्यवसायीहरूमा नैतिक दबाबको कमी आएको देखिएको छ । मङ्गलवार साँझ इलाका प्रहरी कार्यालयको टोलीले धरान-८ स्थित सिटी होटेलमा छापा मारेर यौन व्यवसायको आरोपमा होटेल मालिक र अन्यलाई पक्राउ गरेपछि त्यस्तो देखिएको हो ।

प्रहरीले होटेल सञ्चालक पेमा ल्हामु शेर्पा सहित ३ जनालाई पक्राउ गरेको छ । उक्त घट्नापछि धरानका केही होटलहरुमा यौन व्यवसाय हुने गरेको खुल्न आएको छ ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगुले धनकुटा घर भएकी एक युवतीलाई होटेल सञ्चालक शेर्पाले प्रलोभन देखाएर यौन व्यवसायमा लगाएको प्रारम्भिक अनुसन्धानले देखाएको जानकारी दिए ।

उनका अनुसार यौन क्रियाकलापमा संलग्न युवती पीडित हुन भने प्रहरीले होटेल सञ्चालक शेर्पा र यौन क्रियाकलापमा संलग्न एक पुरुष विरुद्ध मानव बेचबिखन मुद्दामा सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

डिएसपी जबेगु्ले भने ‘जबरजस्ती यौन व्यवसायमा लगाएमा त्यसलाई मानव बेचबिखन नै मानिन्छ ।’ त्यसै आधारमा पक्राउ परेका व्यवसायीलाई मानव बेचबिखनको मुद्दा चलाइने उनको भनाई छ ।

मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन २०६४ को दफा ४ उपदफा १ (ख) मा कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउनुलाई मानव बेचबिखन र ओसारपसार गरेको मानिने भनिएको छ ।

साथै उपदफा २ को (ख) मा ललाई फकाई, प्रलोभनमा पारी, झुक्याइ, जालसाजी गरी जबरजस्ती गरी, डर धम्की तथा प्रलोभनमा पारी आफ्नो नियन्त्रणमा लिने वा कुनै स्थानमा राख्ने वा नेपालभित्र एक ठाउँबाट अर्को ठाउँमा सारेमा मानव ओसारपसार गरेको मानिने उल्लेख छ ।

मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण ऐन २०६४ को परिच्छेद (४) को दफा १५ को उपदफा १ )क) मा मानिस किन्ने वा बेच्नेलाई बिस वर्ष कैद र दुई लाख रुपैयाँ जरिवाना भनिएको छ ।

(ख) मा कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउनेलाई कसुरको मात्रा अनुसार १० वर्षदेखि १५ वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि एक लाखसम्म जरिवाना हुने उल्लेख गरिएको छ ।

डिएसपी जबेगुका अनुसार धरानमा युवतीहरूलाई होटेलहरूमा यौन व्यवसायमा लगाइएको सूचना दिनदिनै जसो आउँछन् । व्यवसायीले आर्थिक अवस्था कमजोर भएका, ग्रामीण भेगका, कम पढेलेखेका र आर्थिक अभावका कारण धरान पसेका युवतीहरूलाई प्रयोग गर्ने गरेका छन् ।

प्रमाणसहित फेला पारिएन भने पक्राउ परेका व्यवसायीहरू सहजै छुट्ने भएकाले केही समय कुरेर व्यवसायीलाई प्रमाण सहित पक्राउ गर्ने तयारी रहेको उनले बताए । विश्वस्त स्रोत र सुराकीबाट आएको सूचनालाई प्रहरीले तत्काल अपरेसन चलाउने र अन्य सूचनामा थप बुझेर फलोअप गर्ने डिएसपी जबेगुले बताए ।