धरान(डेस्क) : शनिबार धरान उपमहानगरपालिकाका विभिन्न स्थानबाट अवैध रुपमा यौन धन्दा चलाएर बस्ने चार जना होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ भने ६ जना महिलाको उद्दार समेत गरेको छ ।

 धरान ७ स्थित रहेको होटल एवानका संचालक दिपेन्द्र श्रेष्ठ, उदयपुर बेलका ६ घर भई हाल धरान ९ बस्ने धरान १२ स्थित रहेको होटल साकेलाका संचालक खिसा बहादुर राई, धरान ७ घर भई परेलि होटलका संचालक लिला बहादुर बस्नेत र धरान १५ घर भई धरान १२ चतरालाईन स्थित रहेको फाईन होटलका संचालक नबिन मगर पक्राउ परेको इलाका प्रहरी कार्यालय धरानले जानकारी दिएको छ ।

होटल एवान बाट २ जना, होटल साकेलाबाट १ जना, परेलि होटलबाट १ जना र फाइन होटलबाट २ जना पीडितलाई उद्दार गरिएको इप्रका धरानले जनाएको छ । शनिबार दिउँसो २ बजे खट्टिएको प्रहरीको टोलीले धरानका होटल तथा लजहरुमा चेकजाँच गर्नेक्रममा किशोरीहरुलाई करकाप तथा प्रलोभनमा पारी अवैध यौन कार्यमा संलग्न गराउने गरेको खुलेको इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी ढुण्डिराज न्यौपानेले बताए ।

उनका अनुसार संखुवासभा, धरान, चतरा र झापाका १८ देखि २३ वर्ष उमेरका युवतीहरुलाई होटल सञ्चालकले यौनधन्दामा लगाउने र ५ सयदेखि १५ सयसम्म दिने गरेका थिए । पक्राउ परेकाहरुलाई मानव बेचविखन कसुरमा मुद्दा दायर गरी सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।