झापा : झापाको दमक नगरपालिका वडा नम्बर ९ का देसु निरौला हत्या प्रकरणले आज शनिवार पनि दिनभर जसो पीडित पक्षले इलाका प्रहरी कार्यालय अगाडी न्याय माग्दै प्रदर्शन गरेका छन् ।

शनिवार मध्यान्न १२ बजेसम्म केही परिणाम आउने आशामा बसेका पीडित पक्षले आज पनि प्रहरीबाट खासै केही परिणाम नआएपछि दिउसो देखी प्रदर्शन थालेका थिए । उनीहरूले इलाका प्रहरी कार्यालय दमकको गेट अगाडी टायर बाल्दै विरोध प्रदर्शन गरेका थिए ।

प्रहरीले जाहेरीमा उल्लेख गरिएका व्यक्तिहरूलाई पक्राउ गर्न आनाकानी गरेको भन्दै उनीहरूले प्रहरी विरुद्ध नाराबाजी समेत गरेका थिए ।

बाहिर प्रदर्शन चर्किरहँदा प्रहरी कार्यालय भित्र दमक नगरपालिकाका प्रमुख, पीडित पक्षका आफन्त अन्य सरोकारवालाहरू र प्रहरी प्रशासन भने छलफलमा थिए ।

लामो समयको छलफलपछि पीडित पक्षले प्रहरीलाई अनुसन्धान गरी आवश्यक प्रक्रिया अघि बढाउन सोमबार मध्यान्न १२ बजेसम्मको समय उपलब्ध गराउन सहमत भएका थिए ।

प्रहरीले अनुसन्धान अघि बढाइसकेको र केही समय मागेका कारण समय उपलब्ध गराइएको दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले जानकारी दिए । मृतकको शव भने परिवारले तत्काल नबुझ्ने भएका छन् ।

मृतकका दाजु नवराज निरौलाले सोमबार मध्यान्नसम्म पर्खने र प्रहरीले दोषीलाई पक्राउ नगरे आफूहरू सोमबारबाट कडा आन्दोलनमा उत्रने बताए । उनले आफ्नो भाइले जस्तो अरू दाजुभाइहरूले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने माग पनि गरेका छन् ।

दमक-३ स्थित बेलडाँगी-मधुमल्ला सडक खण्ड अन्तर्गत मावा खोला किनारको जग्गामा विवाद भएको अवस्थामा विवाद मिलाइदिनका लागि गत मङ्गलवार मोरङको उर्लाबारी-७ का ४९ वर्षीय ध्रुव गौतमले निरौलालाई बोलाएको अवस्थामा निरौला माथि त्यहाँ आक्रमण भएको पीडित परिवारको भनाइ छ ।

यता प्रहरीले पनि आवश्यक अनुसन्धान गम्भीरताका साथ गरिरहेको जनाएको छ । झापा प्रहरी प्रवक्ता कृष्ण कुमार चन्दले घटनालाई प्रहरीले अत्यन्तै गम्भीरताका साथ लिएर अनुसन्धान गरिरहेको जानकारी दिए ।