झापा : झापा दमक नगरपालिका वडा नम्बर ९ का ३७ वर्षीय देशु भनिने यमु निरौलाको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

मोरङ उर्लाबारी-६ बस्ने ४२ वर्षीय प्रकाश कार्की, उर्लाबारी-७ बस्ने ४९ वर्षीय ध्रुव गौतम र सङ्खुवासभा मादी-१० स्थायी ठेगाना भई दमक-३ दुम्से बस्ने २६ वर्षीय गणेश दर्जीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

कार्की र गौतमलाई घटना भएकै दिन पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले बताए । उनले घटनापछि फरार रहेका दर्जीलाई प्रहरीको विशेष टोलीले हिजो काँकडभिट्टाबाट पक्राउ गरेको जानकारी दिए ।

घटनाको समयमा घटनास्थलमा रहेका मे १ च २३९९ र प्रदेश १-०१-००१ च ८६३१ नम्बरका सवारी साधनहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको तथा घटनामा संलग्न अन्य फरार प्रतिवादीहरूको समेत तदारुकताका साथ खोजतलास भइरहेको डिएसपी चन्दले जानकारी दिए ।

निरौलाको हत्या प्रकरणमा संलग्नलाई पक्राउ नगरेको भन्दै मृतकका आफन्त र स्थानीयहरूले विगत पाँच दिनदेखि लगातार आन्दोलन गर्दै आएका छन् । मृतकका आफन्त, स्थानीयवासी र जनप्रतिनिधिले दबाब दिएपछि मात्र पीडितको किटानी जाहेरी प्रहरीले दर्ता गरेको बताइएको छ ।

जाहेरी दर्ता गरे पनि घटनासँग जोडिएका उर्लाबारी-६ का प्रकाश कार्की, उर्लाबारी-७ का ध्रुव गौतम र दमक-३ दुम्से बस्ने २६ वर्षीय गणेश दर्जीबाहेक मुख्य आरोपीहरूलाई पक्राउ नगरेको मृतकका आफन्तको आरोप छ ।

मृतक निरौलामाथि कुटपिटमा प्रत्यक्ष संलग्न देखिएका राजु भनिने शेरबहादुर लिम्बूसहित दमक-८ का बुद्धिमान थापा र नमकुमार चेम्जोङ, इटहरी बस्ने भनिएका डेबिट घलेविरुद्ध मृतककी श्रीमती कृष्णमायाले कर्तव्य ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएकी छन् । बाँकी चार जना फरार नै रहेका छन् । उनीहरू भारत तिर गएको हुन सक्ने प्रहरीको आशङ्का छ ।

गत कात्तिक ६ गते दिउँसो करिब साढे ४ बजेको समयमा दमक-३ उज्यालो टोल विकास संस्थाको दक्षिणपट्टि बगरमा जग्गाको विषयमा विवाद हुँदा निरौलाको हत्या भएको थियो ।