वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकामा बाढीबाट प्रभावित भएका सुत्केरी, गर्भवती महिला, शारीरिक अपाङ्ग तथा एकल महिलाहरूले राहत स्वरूप सरसफाइ सामग्री तथा लत्ताकपडा प्राप्त गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी मार्फत प्राप्त भएको उक्त सामाग्री वराहक्षेत्र नगरपालिकाले बाढी पीडित नगरवासीहरूलाई वितरण गरेको हो ।

सप्तकोशी नदीसँग जोडिएका वडाहरूमा वडा कार्यालयहरूको सिफारिसमा स्वास्थ्य संस्था, स्वास्थ्य महिला स्वयम सेविकाहरूसँग समन्वय गरेर सुत्केरी, गर्भवती महिला, शारीरिक अपाङ्ग तथा एकल महिलाहरूलाई लक्षित गरेर उक्त सामाग्री वितरण गरिने नगरपालिकाका प्रमुख रमेश कार्कीले बताए ।

आज सोमवार  वडा नं.६ र ९ स्थित कोशीपारी श्रीलङ्का टप्पुबाट वितरण सुरु भएको नेपाल रेडक्रस सोसाइटी वराहक्षेत्र नगर संयोजक रविन घिमिरेले बताए ।

उनका अनुसार बाढी प्रभावित सुत्केरी, गर्भवती महिला, शारीरिक अपाङ्ग तथा एकल महिलाहरूले राहत स्वरूप एक थान साडी, बर्को, साबुन, ब्रस, लगाउने कपडा, चप्पल लगायत सामाग्री प्राप्त गर्ने छन् ।