वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं.१ चतराधाम स्थित कुम्भ स्थलबाट पन्ध्रदिने वृहत् वराहक्षेत्र पदयात्राको शुभारम्भ गरिएको छ ।

१५ दिवसीय वृहत् वराहक्षेत्र धार्मिक पदयात्राले सुनसरी, उदयपुर र धनकुटा जिल्लाका धार्मिक क्षेत्रको परिक्रमा गर्नेछ । उक्त पदयात्रा शुभारम्भ कार्यक्रममा कोशी प्रदेश सभाका सदस्य माननीय ममता तामाङ, वराहक्षेत्र नगर प्रमुख रमेश कार्की, बेलका नगर प्रमुख अशोक कार्की, वराहक्षेत्र नगरपालिका वडा नं ७ का अध्यक्ष कपिल आचार्य, जगतगुरु पीठकी कोषाध्यक्ष सीता भण्डारी पौडेल लगायत महानुभावहरूको उपस्थिति रहेको थियो ।

चतराधामबाट पदयात्रा सुरु गरी सप्तकोसी नदी पारगरी उदयपुरको बेलका नगरपालिका सोमबारेमा अवस्थित महाङ्काल भगवतीको पहिलो दर्शन गरिने छ । त्यसपछि कोसी नदी किनारमा रहेको कोसोप्पा गङ्गाको दर्शन गरिने छ । मैनामैनीमा अवस्थित मैनाकुट पर्वत र मैनादेवी भगवतीको दर्शन गरिने छ ।

पदयात्राको क्रममा त्रिवेणी धाम, सफाइटार कामान्चल पर्वतस्थित शिव पाञ्चायन मन्दिर, मूलघाट विश्रान्ति धाम, बेलहरा, सागुरीगढी, नमस्ते झरना हुँदै कार्कीछाप- भेडेटार हुँदै पदयात्रा धरान आइपुग्नेछ ।

पदयात्रा धरानको शिवजट्टाधाम-वसुधाराधाम,  बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर मन्दिर, तरहरा- इटहरी हुँदै वृद्ध गङ्गाको तटमा रहेको विश्वरुपेश्वर महादेव मन्दिर, रामधुनीधाम, रामपुरा, मानपुर सिङ्घियाको परिक्रमा त्यसपछि पदयात्रा प्रकाशपुर, राजाबास, सालबनी, शक्ररुद्र तीर्थ, वराह भगवानको गर्भ गृहको दर्शन गरिने जगद्गुरु बालसन्त मोहनसरणले जानकारी दिए ।

उक्त पदयात्रा गत वर्षदेखि नेपाल राष्ट्रका प्रथम जगतगुरु बालसन्त मोहन सरणको सत् सङ्कल्पबाट सुरु भएको थियो ।

बृहत्तर वराहक्षेत्र भित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्त्वको मठ मन्दिर, तीर्थहरूको प्रवर्धन, प्रचार, उजागर गर्ने उद्देश्यले पदयात्राको सुरु गरिएको जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले जानकारी दिए ।