धरान : सुनसरी जिल्ला अदालतलेको आदेश अवज्ञा गर्दै अनसन बसेका महाकाल शनिदेव मन्दिरका पुजारी काग बाबा उर्फ विश्वदेव पोखरेलले मन्दिर व्यवस्थापन समितिसँग ३ बुँदे सहमति गर्दै आफ्नो अडान छोडेका छन् ।
व्यवस्थापन समिति नै हटाउनु पर्ने अडान राखी ८ बुँदे माग राखेर अनसन बसेको काग बाबाले आफ्नो अडान छोड्दै आज बुधवार अनसन पनि तोडेका हुन । उनी १४ दिन देखी भोक हडतालमा थिए ।
सहमतिमा व्यवस्थापन समितिले सञ्चालन गरेको चन्दा सङ्कलन गर्ने रसिद मन्दिर परिसर बाहिर काट्ने, समितिले ३ महिना भित्र विधान संशोधन गर्ने र साधारण सभाले पारित गरेको संशोधन सम्बन्धित निकायबाट स्वीकृत भएपछि कार्यान्वयन गर्ने र भोक हडतालमा बस्न समितिले रोकटोक नगर्ने कुरा उल्लेख छ ।
सहमति पत्रमा व्यवस्थापन समितिका अध्यक्ष राजकुमार निरौला, पुजारी विश्वदेव पोखरेल, व्यवस्थापन समिति उपाध्यक्ष जुद्ध लोहनी, बाँझ गरा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष राजनकुमार मोक्तानले हस्ताक्षर गरेका छन् ।
रोहवरमा धरान-८ का वडाध्यक्ष धनकुमार राई, धरान १५ का वडाध्यक्ष नरेश ईवाराम बसेका छन् । स्थानीय सरकार धरान उपमहानगरपालिका, मन्दिर व्यवस्थापन समिति, प्रशासन र सङ्घ संस्थाहरूले वृद्धावस्थाका कारण भोक हडताल नगर्न आग्रह गरेका थिए ।