धरान : चारकोशे जङ्गल धरान-१५ तीनकुने तलतिरको महांकाल शनि मन्दिरको पुजारीबाट आफूलाई हटाउन लागेको भन्दै विश्वदेव पोखरेल 'काग बाबा'ले वृद्ध अवस्थासम्म दुःख दिएर गर्न खोजेको के हो ? भन्दै न्यायको माग गरेका छन् ।

मन्दिरमा मङ्गलवार पत्रकार सम्मेलन गर्दै उनले २०६८ सालबाट मन्दिरको पुजारीको कार्य गर्दै आएकोमा श्रद्धालुको सङ्ख्याका साथै शनि मन्दिरको प्रसिद्धि बढेकोले सञ्चालक समितिले २०६९ मा धाक धम्की दिएर हटाउन खोजेको बताए ।

उनका अनुसार त्यस बेला गलत कुराको भण्डाफोर गरी प्रतिवाद गर्दै भोकहड्ताल आमरण अनसन बसेपछि पुजारी यथावत् कायम गरी ७ बुँदे सहमति भएको थियो । पोखरेलले भने ‘तर ११ वर्षसम्म उक्त सहमति कार्यान्वयन भएको छैन ।’

उक्त सहमति पत्रमा उल्लेखित बुँदाहरू कार्यान्वयनको माग सहित उनले पुनः आमरण अनसनको सङ्केत गर्दै भने ‘अबको केही समय भित्र नयाँ कदम चाल्न बाध्य हुने कुराको चेतावनी दिन चाहन्छु ।’

शनि मन्दिर समाजसेवी कृष्णबहादुर शाहीले २०४८ सालमा स्थापना गरेका हुन् । 'काग बाबा'का अनुसार मन्दिरको स्थापना देखि हालसम्म सेवा गरेको ३२ वर्ष भइसकेको छ ।

२०५८ सालमा महाकाल शनिदेव मन्दिर सञ्चालक समिति गठन भएको थियो । तर समिति नाम मात्रैको थियो काम केही नगरेको बताउँदै उनले भने ‘जब मैले २०६८ सालबाट मन्दिरको भौतिक विकास निर्माणमा सहयोग जुटाएर हराभरा बनाउन थाले पछि समितिको ध्यान मन्दिर तर्फ मोडिएको हो ।’

२०७२ सालमा पनि समितिकै योजनामा मन्दिरका सेवक सेविकाहरूलाई अनावश्यक लाञ्छना लगाई हुल हुज्जत, कुटपिट गरी निकाल्न खोजिएको उनले बताए । उनले भने ‘तर मन्दिरको सेवामा निरन्तर लागिरहँदै आएको छु र रहन्छु ।’

शनि मन्दिर सञ्चालक समितिका अध्यक्ष राजकुमार निरौलाले कागबाबाको भनाई निराधार भएको बताए । उनले भने ‘म कार्यसमिति आएपछि नेपाल सरकारको नियम भित्र बसेर कार्य गर्दै आएकोमा कागबाबाले सञ्चालक समितिलाई गालीगलौच गरेर मन्दिर परिसर भित्र पस्न नदिने धम्की समेत दिए ।’

काग बाबाले मन्दिरमा आफ्नो मनपरी गर्ने गरेको मन्दिर भित्रको सम्पूर्ण दान, भेटी उठाएर आफै लैजाने गरेको अध्यक्ष निरौलाको आरोप छ । कार्यसमितिले मन्दिर परिसरमा स्वैच्छिक दान गर्नेलाई रसिद दिएर रकम बैङ्कमा जम्मा गरिदैं आएको उनले बताए ।

अब चाडै नवग्रहको मन्दिर बनाउने योजना रहेको उनको भनाई छ । नयाँ कार्यसमितिले १ सय जना क्षमताको हल निर्माण गर्नुका साथै ४० वटा गाईको गोठ, ३० देखि ४० जना साधु सन्त बस्ने कुटि टोकन सिस्टमको व्यवस्था गरेको छ ।

काग बाबा र सञ्चालक समिति बिचको विवाद अदालत सम्म पुगेको बताउँदै सञ्चालक समिति सदस्य केशव रिजालले अदालतले काग बाबा विरुद्ध फैसला गरिसकेको बताए । उनका अनुसार भोलि बुधवार सञ्चालक समितिको बैठक बसेर पत्रकार सम्मेलन मार्फत सबै कुरा सार्वजनिक गरिने बताए ।