इटहरी : इटहरी उपमहानगरपालिका वडा नम्बर १७ मा अवस्थित पकली माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद झाले शिक्षक सरुवामा दुई लाख मागेको अडियो सार्वजनिक भएको छ । गत भदौ पहिलो साता रेकर्ड भएको अडियो भर्खरै सार्वजनिक भएको हो ।

अडियोमा झाले दुई जति दिनुपर्ने बताएका छन् । तर सरुवा हुने शिक्षकहरूले नसक्ने भनेपछि उनले पुनः दुई जना बिच सल्लाह गर्न आग्रह गरेका छन् । अध्यक्ष झाले तत्कालीन प्रधानाध्यापक यज्ञ ढकालको लामो आलोचना गरेका छन् । आफूहरू पनि नेकपा एमाले सम्बद्ध भएको बताउने शिक्षकहरूले झालाई काम गरिदिन बारम्बार आग्रह गरेका छन् ।

आफूहरू तीन जनाबाट ४ जनामा कुरा बाहिर नजाने विश्वस्त दिलाएका थिए । सशङ्कित हुँदै उनले भनेका छन् ‘तपाईँहरू प्रति मलाई विश्वास लागेको छैन क्या । कसम भनेको छु तीन जना मध्ये चौथोमा कुरो जाँदैन भन्ने विश्वासै छैन ।’

झाले बारम्बार विश्वास नभएको बताइरहँदा शिक्षकहरूले ‘ढुक्क हुनु दाइ । कसम दाइ । यो कुरा तीन जनाबाट चारमा जाँदैन । ढुक्क हुनु ।’ भन्दै पूर्ण विश्वास दिलाउँछन् । त्यसपछि मात्र झाले दुईको अपेक्षा रहेको सुनाएका छन् । अन्तिम सम्म पनि डराइरहेका उनलाई कुरा बाहिर नजाने शिक्षकहरूले आवश्वास्त पारेको अडियोमा छ ।

पकली माविमा कार्यरत शिक्षक टिका खड्का काठमाण्डौको महांकाल जाने तयारीमा थिए । काठमाण्डौको महांकालमा कार्यरत शिक्षक सिताराम घिमिरे पकली आउन चाहन्थे । दुवै राजी भएर एक अर्काको ठाउँ परिवर्तन गर्ने तयारीमा थिए । जसमा विद्यालय व्यवस्थापन समितिको अनुमति चाहिएको थियो ।

काठमाण्डौको विद्यालयमा सहमति जुटाएका घिमिरे र खड्काले झाको साथ खोजेका थिए । सोही क्रममा झासँग बारम्बारको छलफल पछि दुई लाखको डिल भएको हो । जसमा शिक्षकहरूले दिन आनाकानी गरेको प्रस्ट सुनिन्छ । पैसाको लेनदेन नभए पनि हाल पकली माविको प्रधानाध्यापकमा महांकालबाट आएका घिमिरे कार्यरत छन् । घिमिरेले पनि अध्यक्ष झाले दुई लाख मागेको बताएका छन् ।

अध्यक्ष झाले आफूलाई फसाउने षड्यन्त्रको साथ काम भएको बताएका छन् । शिक्षकहरू आफ्नो इच्छा अनुसार आउने जाने गरेको बताउँदै उनले त्यसमा कुनै हस्तक्षेप नभएको उनको भनाइ छ । कहिलेकाहीँ शिक्षकहरूले डेढ लाख रुपैयाँ देखि साउन्ड सिस्टम किनेर विद्यालयलाई सहयोग गरिरहेको उनले जानकारी दिए । कुनै पनि भ्रष्टाचारमा सहभागी नभएको दाबी गरेका उनले अख्तियारमा उजुरी हाल्न चेतावनी दिएका छन् ।