इटहरी : इटहरी उपमहानगरपालिका १४ मा रहेको शान्ति सृजना माध्यमिक विद्यालयका प्रधानाध्यापक कमल तिम्सिनाले रकम अनियमितता गरेको स्वीकार गरेका छन् । उपमहानगरपालिकाको आन्तरिक लेखा परीक्षणबाट हदभन्दा बढी रकम भुक्तानी भएको र सो रकम फिर्ता नभएको विषय बाहिर आएपछि प्रधानाध्यापकले रकम तिर्ने बताएका हुन् ।

विद्यालयलाई ७ लाख ३६ हजार ६६३ रुपैयाँ उपलब्ध गराउनुपर्ने भए पनि शिक्षकको तलब शीर्षकमा ८० लाख बढी रकम भुक्तानी भएको हो । उपमहानगरको लेखा शाखाबाट ८८ लाख २४ हजार २४३ रुपैयाँ भुक्तानी भएको देखिएपछि अनियमितता प्रस्ट भएको थियो ।

उपमहानगरपालिका प्रशासनले एउटा अक्षर बढी थिचिएर प्राविधिक कारण समस्या भएको बताएको छ । तर ७,३६,६६३ र ८८,२४,२४३ मा एउटा मात्र अक्षर गलत हुने आधार देखिँदैन । कुन अक्षर बढी थिचियो भन्ने यकिन गर्न सक्ने अवस्था छैन । उल्लेखित रकममा ३ रुपैयाँको अक्षर बाहेक कुनै पनि अक्षर समान छैनन् ।

२०७९ असोज सम्म चाडपर्वको भत्ता सहित ७ लाख ३६ हजार भुक्तानीको माग गर्दै विद्यालयले माग फारम बुझाएको थियो । भुक्तानीको अनियमितताको विषय आन्तरिक लेखा परीक्षण प्रतिवेदन तयार भएपछि मात्र विषय सार्वजनिक भएको हो ।

सोही समयमा इटहरीका ३६ वटा सामुदायिक विद्यालयमा ६ करोड ३० लाख ६१ हजार ६६० रुपैयाँ भुक्तानी भएको थियो । शान्ति सिर्जनामा विद्यालयको वाणिज्य बैङ्क इटहरीको खाता नम्बर २२२०१००००१३९६०१ मा ८० लाख बढी पैसा जम्मा भएको देखिएको छ ।

शान्ति सिर्जनाको कोड नं. ०६०२७०००५ मा ८० लाख ८७ हजार ५८० रुपैयाँ जम्मा भएको विषयमा उपमहानगरपालिकाले छानबिन गरिरहेको छ । बढी रकम भुक्तानी भएको पत्ता लागेपछि साउन १ गते नै छानबिन समिति गठन भएको हो ।

लेखा अधिकृत लखनलाल चौधरीको संयोजकत्वमा प्रशासन प्रमुख सञ्जीव खड्का र कानुन अधिकृत कमल पोखरेल सदस्य रहने गरी छानबिन समिति गठन भएको छ । सो समितिले साउन ३१ सम्ममा प्रतिवेदन बुझाउने गरी काम गरिरहेको बताइएको छ । संयोजक चौधरीका अनुसार प्रधानाध्यापकले हालसम्म १४ लाख रुपैयाँ फिर्ता गरिसकेका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमतुल मियाँका अनुसार प्रधानाध्यापक तिम्सिनाले कसैलाई थाहै नदिई रकम हिनामिना गरेको जानकारी दिए । सोही विद्यालयमा साउन १९ गते विद्यालय  व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा सरोकारवाला निकायको संयुक्त बैठकमा पनि प्रधानाध्यापकले आफ्नो कमजोरी स्वीकार गरेको मियाँले बताए ।

आफ्नै गल्तीको कारण समस्या भएको स्वीकार गरेका प्रधानाध्यापकले सम्पूर्ण रकम फिर्ता गर्ने विषयमा सहमति जनाउँदै माइन्युटमा हस्ताक्षर गरेका छन् । कपुरी न्युजसँग कुरा गर्दै प्रधानाध्यापक तिम्सिनाले गल्ती भएको तर उपमहानगरपालिकाको आलेप प्रतिवेदन ढिला आएको हुँदा पनि भुक्तानीमा ढिलाइ भएको बताए । उक्त रकम विद्यालयको भौतिक पूर्वाधार निर्माण देखी विद्यालयमा परेका मुद्दामा कानुन व्यवसायीलाई समेत भुक्तानी गरेको उनले प्रस्ट पारेका छन् ।

Minute-shantishree