धरान : नक्कली नोट चलाउन किराना पसलमा सामान किनेपछि पसलेको सहयोगमा प्रहरीले १ जना भारतीय सहित २ जना नक्कली नोट कारोबारी पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत विहारका ३१ वर्षीय रामनाथ राय र मोरङको सुन्दरहरैचाका २० वर्षीय सन्देश उराँव छन् ।

कोशी प्रदेश प्रहरी कार्यालयले जनाए अनुसार उनीहरूलाई सुनसरीको कोशी गाउँपालिका-१ लौकही बजारबाट १ हजार दरको ४ वटा नेपाली नक्कली नोट सहित पक्राउ गरिएको हो ।

हिजो सोमवार राती साढे ८ बजे लौकही बजार स्थित मनिष किराना पसलमा उनीहरूले सामान किनमेल गरी १ हजारको नोट दिएका थिए ।

पसलेलाई उक्त नोट नक्कली रहेको शङ्का लागेपछि तत्काल प्रहरीलाई खबर गरे । तत्काल इलाका प्रहरी कार्यालय लौकहीको प्रहरी टोली आएर उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट २ थान र सामान किनेको २ थान १ हजार दरको नेपाली रुपैयाँ नक्कली नोट बरामद गरेको छ । पक्राउ परेका दुवै जना जिल्ला प्रहरी कार्यालय सुनसरीमा थप अनुसन्धानका लागि हिरासतमा छन् ।