धरान : नेपाल प्रेस युनियन केन्द्रीय समितिले आज शुक्रवार भइरहेको नेपाल पत्रकार महासङ्घको चुनावमा प्रेस युनियन–प्रेस चौतारी बिच भएको संयुक्त प्यानलको उम्मेदवार बाहेक छुट्टै उम्मेदवारी दिएका युनियन पदाधिकार र सदस्यहरूलाई साधारण सदस्य समेतबाट निष्कासित गरेको छ ।
निष्कासित गरिएकाहरूमा सुनसरीका गणेश निरौला पनि छन् । उनले पत्रकार महासङ्घ सुनसरी जिल्लामा युनियन–चौतारीका संयुक्त प्यानलका सभापति सन्तोष काफ्लेको विरुद्धमा प्रत्याशी बनेका छन् ।
यसैगरी सुनसरी चतराका भिषण राई पनि कारबाहीमा परेका छन् । उनी पत्रकार महासङ्घको केन्द्रीय सदस्यमा युनियनबाट अघिल्लो चुनावमा विजयी भएका थिए । यसपालि उम्मेदवार नपाएपछि उनी केन्द्रीय सचिवमा प्रत्याशी बनेका छन् ।
निष्कासनको कारवाहीमा पर्नेहरूमा तेह्रथुमका मनबहादुर फोम्बो, काठमाण्डौका अर्जुन डेटेल, बाराका जयनारायण शाह, काभ्रेपलञ्चोकका शिखर चिमौरिया, नुवाकोटका अर्जुन तामाङ सिन्धुपाल्चोकका चित्रकुमार चौलागाई पनि छन् ।
नेपाल प्रेस युनियन केन्द्रीय समितिले बिहीबार प्रेस विज्ञप्ति प्रकाशित गरी उनीहरूलाई निष्कासन गरेको जनाएको हो ।
विज्ञप्तिमा प्रेस युनियन र प्रेस चौतारीको संयुक्त प्यानलका आधिकारिक उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको घोषणा नगरेकाहरूलाई युनियनको सदस्यबाट निष्कासन गरेको जनाइएको छ । निष्कासनको कारबाही बिहीबारै देखी लागु भएको पनि जनाइएको छ ।