धरान : नेपाल प्रहरी प्रधान कार्यालयको साइबर ब्युरोले सार्वजनिक हितका लागि एक अनुरोध जारी गर्दै फेसबुक, इन्स्टाग्राम, टेलिग्राम, व्हाट्स एप, मेसेञ्जर, भाइबर लगायत सामाजिक सञ्जालमा गरिने विज्ञापन, पैसाको लेनदेनका कुरा ‘धोकापूर्ण’ हुने पाइएकोले त्यसमा विश्वास नगर्न अनुरोध गरेको छ ।
पछिल्लो समय अनलाइन व्यापार, मोबाइल बैङ्किङ, ई-बैङ्किङमा आर्थिक कारोबार बढेको अवस्थाको दुरुपयोग गर्दै साइबर अपराधीहरूले धोकापूर्ण विज्ञापन, अर्काको आइडी ह्याक गरेर रकम ठग्ने घट्नाहरु बढेकोप्रति नेपाल प्रहरी साइबर ब्युरोको ध्यानाकर्षण भएको हो ।
साइबर ब्युरोद्वारा जारी अनुरोधमा ‘अनलाइन जब’को नाममा ‘नियोजित विज्ञापन’ मार्फत विभिन्न ‘लिङ्क’ पठाएर धोकापूर्ण तरिकाले प्रलोभनमा पारी ठगी हुने घट्नाहरु बढिरहेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
साथै ‘ई-सेवा’, ‘खल्ती’ जस्ता वालेट तथा बैङ्क, वित्तीय संस्थाबाट बोलेको भनेर ‘ओटिपी’ मागेर पैसा ट्रान्सफर गर्ने, गिफ्ट प्याकेज, अपुताली, अनलाइन मार्केट प्यालेस/अनलाइन सपिङ, अनलाइन डाटा बुकिङ, अनलाइनमा कोठा भाडा खोजिदिने लगायत अनलाइन सेवाहरूबाट ठगी बढेकोमा साइबर ब्युरोले सचेत रहन अनुरोध गरेको हो ।
यसरी ठगी गर्न ती विज्ञापनकर्ता, फ्रेण्डहरुले व्यक्तिगत बैङ्किङ खाता भाडामा दिने ‘मनि मौल एकाउन्ट’ जस्ता प्रवृत्ति पनि बढेको पाइएकाले त्यस्ता विज्ञापन, आग्रहमा विश्वास नगर्न प्रहरीले अनुरोध गरेको छ ।
प्रहरीको साइबर ब्युरोले ई-बैङ्किङ, मोबाइल पेमेन्ट गर्ने सर्वसाधारणलाई आ-आफ्नो बैङ्किङ खाताको सही सदुपयोग गर्नका साथै डिजिटल प्रविधिको सुरक्षित प्रयोग गर्न सबै नागरिकहरूमा अनुरोध गरेको छ ।