इटहरी : यातायात व्यवस्था कार्यालय अन्य सरकारी कार्यालय भन्दा बढी भिडभाड हुने मध्येमा पर्छ । दैनिक जसो सयौँ सेवाग्राहीको भिडभाड र लाइनको व्यवस्थापन हुन नसक्दा सेवा प्रवाहमा समस्या देखिएको छ । सेवाग्राहीले पनि झन्झटिलो प्रक्रिया र कर्मचारीको आलटालबाट बच्च बिचौलियाको सहारा लिने गरेका छन् ।

इटहरी स्थित यातायात व्यवस्था कार्यालयको प्रवेशद्वार देखि नै बिचौलियाका अड्डा छन् । छिटोछरितो काम सिद्ध्याउन लाइनमा बस्न नपरोस् भन्ने मनसायले सेवाग्राहीहरू बिचौलिया गुहार्ने गरेका हुन् । सोमबार यातायात व्यवस्था कार्यालय इटहरी (सवारी)मा सेवाग्राहीको लामो भिड थियो । राजस्व शाखाको झ्याल अगाडी ठेलमठेल गरेर सेवाग्राही उभिइरहेका थिए ।

समय कट्न लाग्यो भन्दै चिच्याउने देखि टाढा जानुपर्ने भन्दै पालो मिच्नेहरू त्यत्तिकै देखिन्थे । त्यसै मध्येका एक युवाले लामो लाइन भएको भन्दै कर नतिरी घर गए । अर्को दिन बेलैमा आएर काम गर्ने मनसाय बनाएका उनले बिचौलिया गुहार्न सकेनन् । पैसा बढी लाग्ने भएपछि आफै भिडेर काम निकाल्ने उनले बताए ।

राजस्व तिर्न नसक्ने गरी सेवाग्राही लाइन बसिरहेको बेला कोशी प्रदेशसभाको न्याय, प्रशासन तथा विधायन समितिले छलफल चलाइरहेको थियो । यातायात क्षेत्र सुधार गर्न चासो दिएको समितिले समस्या पहिचान गरी समाधानको लागि आवश्यक ऐन तथा कानुनको विषयमा छलफल गरेको हो । यातायात व्यवसायी तथा सरोकारवाला निकायहरू सँगको छलफलमा नीतिगत रूपमा गर्नुपर्ने सुधारको विषयमा छलफल भयो ।

सरकारले बनाएका नियमावली, निर्देशिका र कार्यविधि कार्यान्वयनमा देखिएका अप्ठ्यारा र चुनौतीको विषयमा सुझाव लिइएको समितिका सदस्य तथा सांसद रमेश बस्नेतले बताए । उनका अनुसार यातायात कार्यालयबाट सुझाव सङ्कलनको काम भइरहेको र सोही आधारमा आन्तरिक मामिला तथा कानुन मन्त्रालय मार्फत कार्यान्वयनमा लैजाने तयारी भएको छ ।

न्याय प्रशासन तथा विधायन समिति कि सभापति कमला दर्नालले प्रदेश सरकारका नियमावलीहरू सङ्घीय सरकारसँग बाझिएको र करको विषयमा समेत अन्यौलता देखिएकाले तयारी थालिएको बताइन् । यातायात व्यवसायी तथा मजदुरहरूले दोहोरो कर प्रणाली र रुट परमिट लिँदा झन्झट बेहोर्नुपरेको गुनासो गरे । सवारी चलाक अनुमति पत्रको सास्ती र नवीकरणको झन्झटको विषयमा समेत छलफल भएको थियो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले सेवाग्राहीलाई दु:ख दिने मनसायले कुनै पनि गतिविधि भए त्यसको समाधान गरिने बताए । सवारी साधनको गति र अवस्थाको बारेमा ध्यान दिनुपर्ने बताएका उनले सडक सुरक्षाको लागि प्रशासन साथमा रहेको जानकारी गराए ।