धरान : प्रहरीले विराटनगरमा भारतबाट अवैध रूपमा आयात गरेको हुनसक्ने ८ लाख रुपैयाँ मूल्य बराबरको औषधिजन्य ट्याब्लेट बेवारिसे अवस्थामा सोमवार फेला पारेको छ ।

कोसी प्रदेश प्रहरी कार्यालय प्रादेशिक अनुसन्धान समूहको विराटनगर टोलीले विराटनगर-७ बाट अवैध रूपमा ल्याएको ट्याब्लेटहरू बेवारिसे अवस्थामा बरामद गरेको हो ।

कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार बरामद ट्याब्लेटहरूमा बोनकार्ट ४२ हजार ,७५० ट्याब्लेट छ भने कानोन १२ हजार ट्याब्लेट छ । उक्त औषधिजन्य ट्याब्लेटको मूल्य ८ लाख रहेको बताइएको छ ।

बरामद ट्याब्लेटहरू प्रहरीले आवश्यक कारबाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाएको छ । यसैगरी इलाका प्रहरी कार्यालय बुधनगरले विराटनगर–१८ बाट बेवारिसे अवस्थामा रहेको १६ केजी गाँजा बरामद गरेको छ ।

यसैविच प्रहरीले विराटनगर-२ का ४० वर्षीय संजित मण्डललाई लागुऔषध एभिल ९ एम्पुल, लुपिजेसिक ९ एम्पुल डाइजोपाम ९ एम्पुल र फेनारागन ९ एम्पुल सहित पक्राउ गरेको छ ।

विराटनगर–१७ भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका मण्डललाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

झापाको मेचीनगर-६ बाट शिवसतासी-८ का ३० वर्षीय आशिक राईलाई प्रहरीले २ ग्राम लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको छ । राईलाई लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाको प्रहरी टोलीले पक्राउ गरेको हो ।