धरान : नेपाल मगर सङ्घले धरान-१४ विजयपुर स्थित बुढासुब्बा मन्दिर स्थापनाको इतिहासका बारेमा बौद्धिक छलफल गर्ने भएको छ । 
धरान-१० सैनिक भवनमा मङ्गलवार आयोजित मगर जातिको पर्व सारल्हेस कार्यक्रममा सङ्घका धरान नगर अध्यक्ष चित्रबहादुर मगरले उक्त कुरा बताएका हुन ।
उनका अनुसार सङ्घले वार्षिक कार्यक्रममा २ वटा कार्यक्रम गर्ने बताउँदै ‘बुढासुब्बा मन्दिरे बारे प्राज्ञिक बहस कार्यक्रम सुरु गर्नेछौँ ।’ साथै सङ्घले मगर समुदायमा आधारित चलचित्र प्रदर्शन गर्ने भएको छ ।
प्रमुख अतिथि धरान उपमहानगरपालिकाका उपमेयर अईन्द्र विक्रम बेघाले जातीय संस्कार संस्कृति आफै जोगाउनु पर्ने बताए । उनले बदलिएको राज्यव्यवस्थामा जनजातिहरूले इतिहास, भाषा संस्कृतिको खोजी र संरक्षण गरे मात्र जातीय अस्तित्व रहने बताए ।
कार्यक्रममा चर्चित गायिका निर्मला थापा मगर, गायक सूर्य पूर्वछाने मगर, समीर बराइली र धरानका गङ्गा बरदान लगायतले साङ्गीतिक गायन प्रस्तुत गरे ।
सोही अवसरमा धरानका वडाहरूका मगर समुदायबाट हुर्रा नृत्य प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा धरान एक्स्पो २०८१ मा मगर समुदायको तर्फबाट नृत्य प्रदर्शन गर्ने, विभिन्न प्रतिस्पर्धामा विजयी मगर खेलाडीहरूलाई सम्मान गरियो ।