धरान : स्थानीय सरकार धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ सहकारी कर्मी र सहकारी मैत्री नभएकाले धरानका सहकारीको समस्या समाधान गर्न स्थानीय सरकारले कुनै भूमिका निभाएको छैन ।
सहकारीहरूमा विद्यमान समस्याको बारेमा छलफल गर्न धरान सहकारी समन्वय समिति द्वारा शनिवार आयोजित गोष्ठीमा सहकारीका अगुवाहरूले उक्त धारणा व्यक्त गरेका हुन ।
प्रमुख अतिथि धरान–१५ का वडाध्यक्ष तथा निवर्तमान जिल्ला सहकारी सङ्घ वरिष्ठ उपाध्यक्ष नरेश ईङवारमले भने ‘नगर प्रमुख हर्क साम्पाङ सहकारी कर्मी र सहकारी मैत्री नभएको कारण स्थानीय सरकारले सहकारीको समस्या सुल्झाउन कुनै सहयोग गरेको छैन ।’
उनले सहकारीहरूमा ‘महामारी रोग हैजा’ फैलिएको बताए । यस्तो अवस्थामा पनि धरान उपमहानगरपालिकाले रोग फैलन नदिन कुनै उपाय नअपनाएको उनको भनाई छ । उनले भने ‘हैजाले मर्नेहरू मरे पनि बाच्नेहरूलाई स्थानीय सरकारले डाक्टर बोलाएर औषधी उपचार गर्ने काम भएन भएन घाउमा मलमपटी समेत लगाई दिएन ।’
नेपालमा रहेका ७५३ वटा स्थानीय सरकार मध्ये धरान उपमहानगरपालिका सहकारी बचाउन कुनै एउटा काम नगर्ने स्थानीय सरकार बनेको उनले बताए ।
सहकारी कानुनमा स्थानीय सरकारले सहकारी व्यवस्थापन, सञ्चालन, नियमन, र विकासका लागि कानुनी आधार प्रदान प्रदान गरेको छ । कानुनको अनुसूची ८ अनुरूप सहकारीको जन्म, काम कर्तव्य कार्यान्वयनमा स्थानीय सरकारको भूमिका हुने उनले प्रस्ट्याए ।
ईङवारमले भने ‘तर धरान उपमहानगरपालिकाले नीति विधि अनुसार बजेट छुटाएर सहकारीलाई चलायमान बनाउन प्रयास गरेको छैन ।सहकारकर्मीलाई हाल लागू रहेको कानुन सहकारी ऐन, २०७४ ले यसअघि रहेको सहकारी ऐन, २०४८ लाई प्रतिस्थापन नगरेको उनको जिकिर थियो । उनले नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष देखि सहकारी सञ्चालक कार्यसमिति सदस्य र शेयर सदस्यहरूले समेत सहकारी ऐन, नियमावली पढ्न जरुरी रहेको बताए ।
गोष्ठीमा जिल्ला बचत सङ्घका सञ्चालक सदस्य उद्धव लिम्बुले एउटा सहकारीमा सङ्कट पर्दा अर्के सहकारीले ताली पड्काउनु नहुने बताए । उनले भावनात्मक एकताले सहकारीप्रति फैलिएको नकारात्मक धारणा निवारण गर्नु पर्नेमा जोड दिए ।
जिल्ला सहकारी सङ्घका वरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठले सहकारीहरूले एक अर्का सहकारीसँग हातेमालो गर्न सिक्नुपर्ने बताए । व्यवसाय सञ्चालन गर्ने एकल फर्म, साझेदारी कम्पनी, संयुक्त लगानी कम्पनी जस्तै सहकारी पनि भएको बुझ्न जरुरी भएको उनको भनाई थियो ।
गोष्ठीमा धरानको ४९ वटा सहकारीको सहभागिता थियो । सहजीकरण नेफ्स्कूनका केन्द्रीय महासचिव घनश्याम अधिकारी ले गरेका थिए । उनले सहकारीहरूमा विद्यमान सङ्कटका निकासका लागि ६ बुदे उपायमा सबै सहकारीहरूको ध्यानाकर्षण गराए ।