धरान : पहिचानवादीहरूद्वारा आव्हान गरिएको लिम्बुवान बन्दमा यातायात ठप्प भएका बेला धरानका सार्वजनिक बस सेवाका चालकहरूलाई आइतबार सडक दुर्घटना न्यूनीकरण बारे आवश्यक प्रशिक्षण दिइएको छ ।
यातायात व्यवसायी, ट्रफिक प्रहरी र मजदुर सङ्घको आयोजनामा भएको प्रशिक्षणमा दुर्घटनामा ज्यान गुमाउने र कारागार जाने चालकहरूको सङ्ख्या बढिरहेकाले सवारीका चालकहरूलाई सडक सुरक्षाबारे सचेतना गराइएको हो ।
मजदुर नेता भीम ज्वाला राईले प्रत्येक दिन न्यूनतम ७ जना सडक दुर्घटना मृत्यु हुने गरेको त्यसमा न्यूनतम ४० जना घाइते भइरहेको तथ्य जानकारी गराउँदै सडक दुर्घटना भौतिक, मानवीय, यान्त्रिक र पर्यावरणीय कारणले हुने गरेको उल्लेख गरे ।
नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष राईले चालकहरू धैर्य र संयमित बन्न सके मानवीय त्रुटिबाट हुने दुर्घटना न्यूनीकरण गर्न सकिने बताए ।
उनले दुर्घटना न्यूनीकरणका लागि सवारी साधनको आवश्यकता, यात्रुको चाप, ट्राफिक व्यवस्थापन आधुनिकीकरण र सडक निर्माणमा सन्तुलन हुन जरुरी भएको बताए । चालकले मादक पदार्थ र लागूपदार्थ सेवनलाई पूर्ण अन्त्य गर्नुपर्नेमा ध्यानाकर्षण गराए ।
चालकको उमेर, अस्वस्थ प्रतिस्पर्धा, तीव्र गतिमा नियन्त्रण दुर्घटना न्यूनीकरणको लागि प्रमुख विषय भएकोमा जोड दिए । नक्कली पार्टपुर्जाहरू र कमसल इन्धनमा रोक, सितलहर, हुस्से, भारी वर्षा, बाढी, पहिरोको जस्ता मौसमका कारण हुने दुर्घटना पूर्व सूचना प्रविधि अनुसार चल्दा न्यूनीकरण हुनसक्ने उनको भनाई छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ कोशी प्रदेश संयोजक सरोज श्रेष्ठले मादक पदार्थ र लागु पदार्थ सेवन गरेर सवारी चलाएको प्रमाणित भएमा सवारी साधनलाई छुटपुर्जी रोक्का गरिने बताए ।
प्रमुख अतिथि रहेका श्रेष्ठले सडक दुर्घटनाको अनुसन्धान गरेर गल्ती गर्ने सवारी साधनलाई क्षतिपूर्ति भराइने कोशी प्रदेश यातायात व्यवस्था ऐनमा उल्लेख भएको बताउँदै भने ‘तर कानुनको गलत व्याख्या गरी गल्ती नहुँदा पनि ठुलो सवारी साधनले क्षतिपूर्ति तिर्नु परेको छ ।’
इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगुले सडक दुर्घटना हुँदा चालकहरू र सवारी धनीलाई प्रभावित हुने सवारी तथा यातायात व्यवस्था ऐनका दफाहरू बारे जानकारी दिए । उनले सवारी ऐनको दफा १६१ र १६२ ले चालकलाई हुने कानुनी सजायबारे गम्भीर हुनुपर्ने बताए ।
सडकमा हिँड्दा चालकले अपनाउनुपर्ने ट्राफिक नियमहरूको जानकारी जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाले दिए ।
प्रशिक्षण कार्यक्रम नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, ट्राफिक प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरानको संयुक्त आयोजनामा भएको हो ।
मजदुर सङ्गठन केन्द्रीय सदस्य लक्ष्मी बानियाँले सञ्चालन गरेको प्रशिक्षणमा धरानका १०५ जना यातायात मजदुर सहभागी थिए ।