धरान : प्रहरीले भारतीय नम्बर प्लेट बीआर ३७ एए ८४९८ को मोटरसाइकल रोक्न खोज्दा नरोकी भगाएपछि गोली प्रहार गरेर २ जना भारतीय युवालाई ब्राउनसुगर सहित नियन्त्रणमा लिएको छ ।

फायरिङ गर्दा खुट्टामा गोली लागी मोटरसाइकल चालक भारत बिहार डिगल बैङ्कका २८ वर्षीय अन्जर आलम घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल भद्रपुरमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार झापाको कन्काइ-४ मा मङ्गलवार साँझ ६:३० बजे भएको हो ।

लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी टोलीले कन्काइ-४ कुमरखोद सुरुङ्गाको भित्री सडक खण्डमा चेकजाँच गर्न मोटरसाइकल रोक्न खोजेका थिए ।

तर नरोकी मोटरसाइकल भगाएकोले प्रहरीले गोली प्रहार गर्नु परेको थियो । गोली प्रहार गर्दा मोटरसाइकल चालक अन्जर आलमको खुट्टामा गोली लागी घाइते भएका हुन ।

उनीसँगै मोटरसाइकल पछाडि रहेका उनका भाइ १९ वर्षीय युसुब आलमलाई प्रहरीले ३० ग्राम ६९० मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको छ ।

उनीहरूको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान तथा कानुनी कारबाही भइरहेको छ ।