विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रादेशिक आम सञ्चार विधेयक सहमति मै पारित हुने बताएका छन् ।

प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत विधेयकमा प्रेस स्वतन्त्रतामा नियन्त्रण गर्ने सरकारी निकाय खडा गर्ने खालको प्रावधानहरू भएको प्रदेश सभामै सांसदहरूले गरेको आलोचना तर्फ सङ्केत गर्दै उनले भने ‘विधेयकमाथि पर्याप्त छलफल गरेर सहमतिमा पारित गरिनेछ ।’

प्रेस चौतारी कोशी प्रदेश दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रममा बुधवार मुख्यमन्त्री कार्कीले प्रदेश सभामा पेस भएको प्रादेशिक सञ्चार विधेयकमा कमि कमजोरी भए सच्याएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका हुन ।

अहिले सङ्घीय सरकारले जारी गर्ने भनिएको अध्यादेशको प्रसङ्ग निकाल्दै मुख्यमन्त्री कार्कीले भने ‘अहिले अध्यादेशको विषयमा अनावश्यक रूपमा बखेडा झिक्न खोजिएको छ ।’

सरकारले ल्याउने विधेयकका विषयमा दलका नेताहरूले पनि विरोध गरिरहेको सुनिन्छ तर अध्यादेश संवैधानिक हो । सदनबाट पारित नभए खारेज हुन्छ तर अध्यादेश ल्याउनै नपाउने भन्न नहुने उनको भनाई छ ।

यस अघिका सरकारहरू र प्रदेश सरकारहरूले पनि अध्यादेश ल्याउने गरेको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले आगामी दिनमा सरकार चलाउनेहरूले अनावश्यक रूपमा विधेयकहरूको विरोध गर्न नहुने बताए ।

उनले कोशी प्रदेशको विकास निम्ति प्रदेश सरकारले प्रदेशको पर्यटन विकासका लागि पदमार्गहरू निर्माणको काम सुरु गरिएको उल्लेख गर्दै प्रदेश सरकारले २९ वटा पालिका जोड्ने गरीको दातृ निकायसँगको सहकार्यमा ४ वटा पदमार्ग निर्माणको काम सुरु गरेको बताए ।