वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाको आयोजनामा शुक्रवारदेखि छैटौँ वराहक्षेत्र नगरपालिका माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको नगर प्रमुख रमेश कार्कीले उद्घाटन गरेका छन् ।
प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख रमेश कार्कीले विद्यालयस्तरदेखि नै खेलाडी उत्पादन गर्न राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको महत्त्वपूर्ण भूमिका रहेको बताए ।
![](/uploads/advertise/Jutta Chappal Mela_1739253047.jpg)
पालिकास्तरीय प्रतियोगिताबाट छनौट भएका खेलाडीले जिल्ला, प्रदेश हुँदै केन्द्रीयस्तरको प्रतियोगितामा सहभागिता जनाउने उनले बताए । उनले राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता खेलाडी उत्पादन गर्ने महत्त्वपूर्ण रहेको जिकिर गरे ।
उनले प्रतियोगिताले विद्यार्थी-विद्यार्थीबिच र विद्यालय-विद्यालयबिच प्रतिस्पर्धी क्षमताको विकास गर्दै सम्बन्ध विस्तारमा समेत सहयोग पुग्ने दाबी गरे।
तीन दिनसम्म हुने प्रतियोगितामा नगर भित्र रहेका माध्यमिक तहका सामुदायिक, संस्थागत, धार्मिक विद्यालयको सहभागिता रहेको छ। भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आर्ट लगायतका विधाका खेलमा विद्यार्थी खेलाडीले प्रतिस्पर्धा गर्ने वराहक्षेत्र नगरपालिका शिक्षा विकास शाखाका प्रमुख उत्तमराज भारतीले जानकारी दिए ।
वसन्तऋतु माध्यमिक विद्यालयको खेलमैदानमा शुक्रवार नगर खेलकुद विकास समितिका अध्यक्ष कपिल आचार्यको सभाध्यक्षतामा उद्घाटन समारोह आयोजना भएको थियो ।
उद्घाटन समारोहमा वराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीको प्रमुख अतिथि रहेका थिए । समारोहमा विद्यार्थीहरूले मार्चपास, सांस्कृतिक नृत्य, खेलाडीहरूले कराते कात्ता प्रस्तुत गरेका थिए ।
उद्घाटन कार्यक्रममा नगर उपप्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल विशिष्ट अतिथि रहेका थिए । समारोहमा वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, विद्यालयका प्रधानाध्यापकहरू, खेल शिक्षक, प्रशिक्षकहरूको अतिथ्यता रहेको थियो ।