धरान : डिजिटल प्रविधिको विकासले बढाएको पहुँचबाट सञ्चार माध्यमको बाढी आएपछि त्यसको बिचमा पत्रकारिताको धर्म, पेशा र व्यवसाय सङ्कटमा परेको बारेमा शनिवार बिहान सञ्चारकर्मीहरू बिच चर्चा भयो ।
अनलाइन मिडिया बिटिभि नेपालले अनलाइन टिभी सञ्चालन गर्न धरान-९ आचार्य लाइनमा खोलेको कार्यालय उद्घाटनको अवसरमा भेला भएका सञ्चारकर्मी माझ सञ्चार माध्यमका बारेमा परिचर्चा भएको हो।

वरिष्ठ पत्रकार कपुरी न्यूजका प्रधान सम्पादक हर्ष सुब्बाले स्वरोजगार तथा साना लगानीका सञ्चार माध्यमले सञ्चार उपभोक्ता बजार तयार गरिदिने र त्यसको लाभ भने ठुला लगानीकर्ताको माध्यमले उठाउने गरेको बताए ।
लेटर प्रेसको जमानामा २०३६ तिर पत्रपत्रिका दर्ता खुला भएपछि अहिलेको जस्तै स्वरोजगारका पत्रपत्रिकाको बाढी आयो । त्यसले बजार निर्माण त गर्यो, तर २०४८ पछि ठुला लगानीकर्ताको ब्रोडसिटका अखबारले त्यसको सबै लाभ उठाएको बताए ।
उनले भने ‘मिडियामा लगानी राम्रो भएमा पत्रकारिताको धर्म, पेशा र व्यवसाय राम्ररी चल्न सक्छ ।’ स्वरोजगार, साना मिडियाले ठुला मिडियाको बजार निर्माण मात्र गरिरहेको उनको भनाई थियो ।
अग्रज पत्रकार, युवा नेता भीम राई ज्वालाले नयाँ प्रविधिले सञ्चार माध्यमको बाढी ल्याए पनि पत्रकारिताको धर्म नष्ट गरिरहेको बताए । मिडियाले जनतालाई सुसूचित गर्नु पर्नेमा कसै राजनीतिक उद्देश्यको प्रचारमा लाग्ने प्रवृत्ति बढको उनको भनाई थियो ।
उनले भने ‘धरानका मेयर हर्क साम्पाङ गरेको कमी कमजोरीमा टिका टिप्पणी गर्ने पत्रकारिता पाइँदैन तर उहाँको एकोहोरो प्रचार गर्ने मिडिया धेरै छन् ।’ धरानको मिडियामा पत्रकारिताको धर्म निर्वाह गर्ने प्रवृत्ति हराएको उनले बताए ।
बिटिभि नेपालको कार्यालय कक्षको उद्घाटन नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेले गरेका थिए । उनले मिडियाहरूमा निराशा छाउँदै गरेको अवस्थामा नयाँ मिडियाको रूपमा स्थापित बिटिभि नेपालले छोटो समयमा चर्चा परिचर्चा कमाउँदै गएको बताए ।
अध्यक्ष काफ्ले भने ‘ बिटिभि नेपालले मिडियाको आचारसंहिताको पालना गर्दै समाजमा उत्कृष्ट मिडिया हाउसको रूपमा स्थापित हुने विश्वास छ ।’
बिटिभि नेपालका सञ्चालक वीरेन्द्र थापाले बिटीभी नेपालले स्टुडियो राख्दै कार्यालयबाट पोडकाष्ट र अनलाइन, युट्युब सञ्चालन गर्ने जानकारी दिए । उनले समाजमा रहेका घटनालाई जस्ताको त्यस्तै र केही कसैले नदेखेका घटनालाई उजागर गर्ने बताए ।
उनका अनुसार बिटिभि नेपाल ब्रर्दश अनलाइन मिडिया हब प्रालीबाट सञ्चालन गरिएको हो ।