सुनसरी : इटहरीस्थित जनता स्कुलको यस वर्षको भर्नामा समेत अभिभावक हरूको उत्साहजनक चासो देखिएको छ ।
सरस्वती पूजाकै दिन ३५० वटा आवेदन आएकोमा निरन्तर आवेदन दिने विद्यार्थीहरू बढिरहेको प्रधानाध्यापक पशुपति सिग्देलले जानकारी दिएका छन् ।

उनका अनुसार यस वर्ष सेक्टर १ मा १८५ र सेक्टर २ मा २४० जना विद्यार्थी भर्ना लिन लागिएको छ । जसअनुसार सेक्टर १ मा नर्सरीमा २५ जना र कक्षा ६, ७, ८ र ९ मा ४०–४० जनाका दरले भर्ना लिन लागिएको छ भने सेक्टर २ मा कक्षा ४ देखि ९ सम्म ४०-४० जनाका दरले विद्यार्थी भर्ना लिन लागिएको हो । दुवै सेक्टरमा अङ्ग्रेजी माध्यमबाट पढाइ हुने बताइएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालका अनुसार अहिले विद्यालयको दुवै सेक्टरमा कक्षा कोठा थप भएकोले थप विद्यार्थी भर्ना लिन लागिएको हो । ‘हाम्रो सिट सङ्ख्याभन्दा दोब्बर बढी आवेदन परेकाले अध्ययन गर्न नपाएका विद्यार्थीहरूलाई यो वर्ष केही अवसर सृजना भएको छ,’ उनले भने, ‘भवन र कक्षा कोठा थप भयो भने हामी सबै इच्छुक अविभावकहरुका बालबालिकाहरूलाई पढाउन सक्ने गरी व्यवस्थापन गरेका छौँ ।’
विद्यालयले भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरका साथै अतिरिक्त क्रियाकलापलाई पनि सुधार गर्दै लगेको छ । जनता स्कुल सुनसरीकै उत्कृष्ट स्कुलको रूपमा प्रदेश सरकारबाट पुरस्कृत भइसकेको छ ।