धरान : बेलबारी-११ का २७ वर्षीय विशाल गुरुङ र इटहरीका १९ वर्षीय आर्यन राजधामीलाई आइतबार प्रहरीले ब्राउनसुगर सहित विराटनगरमा पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार उनीहरूलाई भारतबाट पैदल नेपाल आउँदै गरेको बेला चेकजाँच गर्दा पक्राउ गरिएको हो ।

विराटनगर-१५ स्थितमा लागूऔषध नियन्त्रण व्युरो विराटनगर, इलाका प्रहरी कार्यालय रानीको प्रहरी टोलीले १० ग्राम १३१ मिलिग्राम ब्राउनसुगर सहित उनीहरूलाई नियन्त्रणमा लिएको छ ।

त्यसैगरी रतुवामाई-४ का २५ वर्षीय सुरज ताजपुरीया, २६ वर्षीय विक्रम चौधरी र २६ वर्षीय अशोक गुरुङलाई इलाका प्रहरी कार्यालय सिजुवाले लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

उनीहरूको साथबाट प्रहरीले २०० मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ ।

बुढीगङ्गा-५ का २७ वर्षीय मोहमद नवाफलाई इलाका प्रहरी कार्यालय नेमुवाले प्रतिबन्धित लागूऔषध प्रिभोन स्पास एगिक २८८ ट्याब्लेट सहित प्रहरीले पक्राउ गरेको छ ।

मेचीनगर-१० का २६ वर्षीय प्रकाश यादव र ३२ वर्षीय साकिर महमदलाई भद्रपुर-५ बाट लागूऔषध ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

उनीहरूलाई लागुऔषध नियन्त्रण व्युरो काकरभिट्टाको प्रहरी टोलीले १ ग्राम २ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । लागूऔषध सहित पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ ।