वराहक्षेत्र : नवौँ स्थापना दिवसको अवसरमा वराहक्षेत्र नगरपालिकाले वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो । सोमवार नगरपालिकाले  वडा नं २ चतरा स्थित आदर्श माध्यमिक विद्यालयको सभाहलमा वक्तृत्वकला प्रतियोगितामा आयोजना भएको थियो ।

"वराहक्षेत्रमा धार्मिक पर्यटकको सम्भावना" शीर्षक रहेको माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा कालाबञ्जरमा रहेको मुनबिम एकेडेमी विद्यालयकी मनिसा वराल प्रथम भएकी छिन् । महेन्द्र माध्यमिक विद्यालय चक्रघट्टीका तारानाथ चौलागाई द्वितीय भएका छन् ।

त्यस्तै चतरामा रहेको राधाकृष्ण संस्कृति गुरुकुल माध्यमिक विद्यालयका सोमराज आचार्य तृतीय र महेन्द्र माध्यमिक विद्यालय चक्रघट्टिकी लक्ष्मी नेपाली सान्त्वना हुन सफल भएकी थिइन् ।

प्रतियोगितामा प्रथम भएकी मनिसाले ५ हजार सहित प्रमाण पत्र प्राप्त गरेकी छिन् । त्यस्तै द्वितीय भएका तारानाथले नगद ४ हजार, तृतीय भएका सोमराजले ३ हजार र सान्त्वना भएकी लक्ष्मीले २ हजार सहित प्रमाण पत्र प्राप्त गरिन् ।

उनीहरूलाई नगर प्रमुख रमेश कार्की, उपप्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल, वडा नं १ का अध्यक्ष किसम थापामगर, वडा नं २ का अध्यक्ष होमप्रसाद गौतम, वडा नं ७ का अध्यक्ष कपिल आचार्य, शिक्षा विकास शाखाका प्रमुख उत्तमराज भारति, आदर्श माविका प्रधानाध्यापक लक्ष्मी प्रसाद लिम्बू,  निर्णायकहरू आदर्श माविमा पूर्व प्रधानाध्यापक प्रल्लाद भट्टराई लगायतले नगद सहित प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।

२०७३ फाल्गुन २७ गते साविका वराहक्षेत्र, भरौल, महेन्द्रनगर, प्रकाशपुर र मधुवन गाउँ विकास समिति मिलेर वराहक्षेत्र नगरपालिका स्थापना भएको थियो । नगरपालिका घोषणा भएको  अवसरलाई उत्सवको रूपमा लिएर ९औँ स्थापना दिवस मनाउने निर्णय गरिएको वराहक्षेत्र नगरपालिका नगर प्रमुख रमेश कार्कीले बताए ।

स्थापना दिवसको अवसरमा २६, २७ र २८ गते साँझ नगरपालिकाको कार्यालय र वडा कार्यालयहरूमा दिप प्रज्वलन कार्यक्रम गरिने छ । त्यस्तै २७ गते बिहान रक्तदान र २८ गते नगर स्तरीय खुल्ला रोड रेस प्रतियोगिता आयोजना हुनेछ ।