धरान : धरान वडा-५ देउरालीको लागि कोशी प्रदेश सरकारको बजेटमा छुट्टै भूमिगत खानेपानी का लागि डिप बोरिङ सुरु गरेको छ । चारकोशे जङ्गल स्थित पानबारी सामुदायिक वन क्षेत्रमा फागुन ९ गते देखि डिप बोरिङका लागि काम सुरु भएको हो ।

प्रदेश सरकार खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालय विराटनगरबाट डिप बोरिङको लागि २० लाख रुपैयाँ बजेट आएको देउराली खानेपानी उपभोक्ता तथा सरसफाई समितिका अध्यक्ष लक्ष्मी नेम्बाङ लिम्बुले बताए ।

उनका अनुसार डिभिजन कार्यालय इटहरीले जारी गरेको ‘डिप बोरिङ’को ठेक्का टेन्डर विराटनगरको रेश्मा डिप बोरिङ टुवेल उद्योगले पाएको छ । अध्यक्ष लिम्बुले भने ‘डिप बोरिङको काम फागुन मसान्त सम्ममा सकिने ठेकेदार कम्पनीले बताएको छ ।’

डिप बोरिङबाट पानी समितिको ट्याङकीमा जडान भएपछि देउरालीवासीको घरघरमा दैनिक पानी आपूर्ति हुने उनले बताए । अहिले देउराली खानेपानी समितिले ४ वटा स्रोतबाट खानेपानी सङ्कलन गरी आपूर्ति गर्दै आएको छ ।

तर त्यसबाट खानेपानी समस्या समाधान नभएको अवस्थामा कोशी प्रदेश सरकारको बजेटमा भूमिगत श्रोतको पानीका लागि ‘डिप बोरिङ’ गरिएको हो । खानेपानीको हाहाकार फैलिरहेको अवस्थामा खानेपानी समस्या टार्न प्रदेश सरकारको सहयोग देउरालीवासीकालागि खुसीको कुरा भएको अध्यक्ष लिम्बुले बताए ।

बोरिङ स्थलबाट खानेपानी संरचना सम्म जडान गर्न समेत प्रदेश सरकारले बजेट विनियोजन गर्ने अपेक्षा गरिएका उनले बताए । अध्यक्ष लिम्बुले भने ‘देउराली गरिब सुकुम्वासी बस्ती भएकाले पनि स्थानीय सरकार धरान उपमहानगरपालिकाको उपेक्षा परेको छ ।’

देउरालीको खानेपानी समस्या समाधान गर्न कयौँ पटक उपमहानगरपालिकामा डेलिगेसन गए पनि जहिले पनि उपेक्षाको शिकार हुनुपरेको उनले बताए । उनले भने ‘कुनै मेयर आउँदा पनि देउरालीबासीको खानेपानीको समस्या सम्बोधन भएन ।’

उपभोक्ता समितिकै पहलमा प्राकृतिक स्रोत तथा मुहान खोजी गरी खानेपानीको स्रोत व्यवस्थापन गर्दै अहिले सम्म खानेपानीको जोहो भएको उनले बताए । देउरालीमा हाल शेरा, अधेरी, लामिछाने खोलाहरूबाट पानी सङ्कलन गरी ल्याउने गरिएको छ ।

तर त्यस्ले देउरालीवासीहरूलाई धान्न नसकेको उनले बताए । देउरालीका करिब ३१ सय घरधुरीलाई अहिले ३ दिनमा एक पटक मात्र पानीको पालो दिने गरेको अध्यक्ष लिम्बुले बताए ।

मुहानबाट ल्याएको पानीले देउराली बासीलाई धान्न नसकेपछि समिति अध्यक्षको अढाई बर्षे कार्यकालमा ३ वटा मुहानमा इन्टेकको निर्माण गरेको उनले बताए । कार्यकालको प्रारम्भमा प्रदेश सरकारबाट ५ लाख बजेट र खानेपानी संस्थानको १५ लाख रुपैयाँमा शेरा खोलाबाट सङ्कलन हुने पानीका लागि ३ लाख लिटर क्षमताको ट्याङकी निर्माण गरेको बताए ।

प्रदेश सरकारको ५ लाख र उपभोक्ता समितिको १५ लाखमा अधेरी खोलाबाट ६३ एफएमको पाइपबाट पानी ल्याएर झोरापाटामा ६ लाख घन लिटरको पानी ट्याङकी निर्माण गरिएको उनले बताए ।

२ लाख ५० हजार घन लिटरको साउने डाँडामा समेत ट्याङकी निर्माण गरी देउराली बासीलाई खुवाउन सफल भएको उनको  भनाई छ । अध्यक्ष लिम्बुले भने ‘उपमहानगरपालिकाले बेवास्ता गरे पनि उपभोक्ता समितिकै पहलमा फोहोर समेत सङ्कलन अभियान सञ्चालन गरिएको छ ।’

उनका अनुसार मासिक २० रुपैयाँमै प्रत्येक घरधुरीको फोहोर सङ्कलन हुन्छ ।अहिले देउरालीको कुनै पनि खोलामा फोहोर छैन सफा देउराली भएको छ । खानेपानीको बिलमै सरसफाई कर पनि लिने गरिएको छ ।

वर्षको सुख्खा मौसममा पानी उत्पादन भई कम हुने भएकोले देउराली बासीलाई अझ थप खानेपानीको स्रोत डिप बोरिङ थपेर खानेपानी समस्या हल गर्न प्रयास गर्ने गरिएको उनको  भनाई छ ।

No description available.