धरान : चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा धरानका ४ क्याम्पस मध्ये ३ वटा क्याम्पसमा हुने निर्वाचनमा विद्यार्थी सङ्गठनले माउ पार्टीकै शैलीमा गठबन्धन गरेका छन् ।
शुक्रवार भएको उम्मेदवारी दर्तामा नेपाली काँग्रेस निकट नेवि सङ्घ र नेकपा एमाले निकट अनेरास्ववियुले पार्टी र विद्यार्थी सङ्गठनका नेताहरू बिचको सहमतिमा महेन्द्र र हात्तीसार क्याम्पसमा भागबन्डा भएतापनि इन्जिनियरिङ क्याम्पसमा गठबन्धन नभएको नेपाल विद्यार्थी सङ्घ केन्द्रीय सदस्य संगिता बाहिङ राईले बताईन ।

राईका अनुसार नेविसङ्घ र अनेरास्ववियुको गठबन्धन तर्फबाट महेन्द्र क्याम्पसको सभापतिमा नेबिसंघका प्रशान्त राईले उम्मेदवारी दिएका छन भने केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा अनेरास्ववियुका अनिरुद्ध श्रेष्ठ (कृश)ले सभापतिको उम्मेदवारी दिएको बताईन । उनले २ वटै क्याम्पसमा सभापति उम्मेदवारमा गठबन्धन भएको बताईन ।
महेन्द्र क्याम्पसमा सभापतिका उम्मेदवारहरू नेकपा माओवादी केन्द्र निकट विद्यार्थी युनियन अनेरास्ववियु क्रान्तिकारीको तर्फबाट तेज बहादुर दुमी, समाजवादी विद्यार्थीबाट युवराज राई (अलौकिक), अनेरास्ववियु क्रान्तिकारी मोहन वैद्य किरण निकटबाट अमृता राई रहेका छन् ।
केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा अनेरास्ववियु क्रान्तिकारी र स्वतन्त्र समूहबिच गठबन्धन भई स्वतन्त्र समूह तर्फका सभापतिको उम्मेदवार पेशल राज कार्की उम्मेदवार बनेका छन् ।
पुर्वाञ्जल इन्जिनियरिङ क्याम्पसमा सभापतिको उम्मेदवारहरू नेवि सङ्घ तर्फबाट सागर बस्याल, अनेरास्ववियु क्रान्तिकारी तर्फबाट करण मगर, अनेरास्ववियुको तर्फबाट ईश्वर बन्जाडे, समाजवादी विद्यार्थी (उपेन्द्र यादव) तर्फबाट गणपति झा, स्वतन्त्र विद्यार्थी समूहको तर्फबाट सविन धितालको उम्मेदवारी रहेको तत्कालीन स्ववियु सभापति नवीन श्रेष्ठले बताए ।
स्ववियु चुनावका लागि धरान स्थित महेन्द्र क्याम्पस र केन्द्रीय प्रविधि क्याम्पसमा १०/ १० वटा विद्यार्थी सङ्गठन दर्ता भएका थिए भने पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा भने ७ विद्यार्थी सङ्गठन मात्र चुनावका लागि फागुन १९ गते सोमबार दर्ता भएका थिए ।
महेन्द्र क्याम्पसमा कुल मतदाता सङ्ख्या ४ हजार ४८४, केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा कुल मतदाता सङ्ख्या ९५६, इन्जिनियरिङ क्याम्पसमा मतदाता नामावली प्रकाशनमा कुल सङ्ख्या २ हजार ३६२ रहेका छन् । त्रिभुवन विश्वविद्यालयको धरान स्थित आङ्गिक ३ क्याम्पसमा करिब ७ हजार ८०२ जना मतदाता रहेका छन् ।