विराटनगर : प्राज्ञिक विद्यार्थी परिषद्को दशौँ राष्ट्रिय अधिवेशनको चैत २ देखी चितवन उद्योग सङ्घको सभा हलमा हुने भएको छ ।

अधिवेशनमा देशभरबाट एक हजार प्रतिनिधि सहभागी हुने परिषद्ले पत्रकार सम्मेलनमा जनाएको छ ।

परिषद्का राष्ट्रिय महासचिव विष्णुप्रसाद पङ्गेनीले देशमा बढिरहेको भ्रष्टाचार, दुर्व्यसनी, बेरोजगारी, आर्थिक एवम् पर्यावरण सङ्कट, बढ्दो सुरक्षा चुनौतीका विषयमा प्राज्ञिक वर्गको भूमिकाको विषयमा अधिवेशन केन्द्रित रहने बताए ।

देशको शिक्षा, आर्थिक, समसामयिक र सङ्कल्प गरी चार वटा प्रस्तावहरू अधिवेशनले पारित गर्ने बताइएको छ ।

राष्ट्रिय अध्यक्ष डा. गोपीनाथ कँडेलले विद्यार्थी परिषद्ले दलगत राजनीति भन्दा माथि रहेर देशको समग्र शिक्षा क्षेत्रको सुधारका लागि अथक रूपमा निरन्तर राष्ट्र प्रथम भावका साथ काम गरिरहेको बताए ।

अधिवेशन सन्त समाजका अध्यक्ष श्री १००८ ज्ञानानन्द सरस्वतीजी महाराजले उद्घाटन गर्नेछन् । कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरि प्रसाद लम्साल र भरतपुरकी मेयर रेणु दाहालको विशेष उपस्थिति रहने छ ।