धरान : स्ववियु चुनावको ठिक ३ दिन अघि पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा सभापति पदका उम्मेदवार सविन धिताल साथीहरू सहित स्ववियुको हिसाब किताब खोज्दै अनशनमा बसेका छन् ।
स्वतन्त्र समूहबाट सभापतिका उम्मेदवार सविन धिताल आज शनिवार ४ बजे देखी स्ववियु कार्यालय अघि अनशन बसेका हुन । धिताल नेविसंघबाट असन्तुष्ट भई स्वतन्त्र उम्मेदवार भएका हुन ।

उनले ८ महिना अघि नेविसंघबाट राजीनामा दिई स्वतन्त्र भएको घोषणा गरेका थिए । इन्जिनियरिङ क्याम्पसको स्ववियुमा ७ सङ्गठन/समूह चुनावी मैदानमा छन् ।
धितालको समूहले स्ववियुले स्पोन्सरबाट उठेको रकम विल भरपाई नदेखाएको आरोप लगाएको छ । स्ववियुमा संस्थागत काम नभएको, आर्थिक रिपोर्टमा डिजिटल हस्ताक्षर गरिएको लगायतका कुरा पारदर्शी गर्न माग गरिएको छ ।
स्वतन्त्र समूह प्लेकार्ड बोकेर अनसन बसेका बसेका छन् । उनीहरूले आर्थिक पारदर्शिता सार्वजनिक गर, तत्काल लेखा परीक्षण गर, स्ववियुको आर्थिक अनियमितता मान्दैनौ जस्ता नाराबाजी गरेका छन् ।
'आर्थिक पारदर्शिता गरेका छौ'
क्याम्पसका वर्तमान स्ववियु सभापति नवीन श्रेष्ठले २ वर्षको आर्थिक गतिविधि पुर्ण रूपमा पारदर्शी गरेको बताए । उनले भने ‘कार्यसमितिले गरेको ३९ लाखको आर्थिक कारोबारको खर्च सहितको बिल सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेका छौँ।’
तर तत्काल लेखा परीक्षण गर्न नसकिएको उनले बताए । स्ववियु निर्वाचनको चैत ५ गते भएकाले हिजो शुक्रवार हिसाब किताब तत्कालका लागि सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्नु परेको उनको भनाई छ ।
सभापति श्रेष्ठले भने ‘ स्ववियु निर्वाचन सकिने बित्तिकै लेखा परीक्षण गरेर नयाँ स्ववियु कार्यसमितिलाई आर्थिक कारोबार हस्तान्तरण गर्छौँ ।’
चुनावको मुखमा स्वतन्त्र समूहले स्टण्ट गर्न खोजेको सभापति श्रेष्ठले आरोप लगाउँदै भने ‘चुनाव नजिकिए सँगै गरिएको स्टण्टले चुनावमा कुनै असर गर्दैन ।’
स्ववियु उपसभापति सौगात भट्टराईले पनि अनसन स्ववियु निर्वाचनको चुनावी स्टण्ट मात्र भएको बताए । उनले भने ‘अनसन बसेर आर्थिक पारदर्शीताको विषय उठाउनु ठिक भएपनी अनसन बस्ने समय ठिक भएन ।’
उपसभापति भट्टराईले भने ‘यो स्ववियु चुनाव हुन नदिनका लागि भएको चुनावी स्टण्ट मात्र हो, तर स्ववियु चुनाव हुन्छ ।’
पुर्वाञ्जल इन्जिनियरिङ क्याम्पसमा सभापतिको उम्मेदवारहरू नेविसङ्घबाट सागर बस्याल, अनेरास्ववियु क्रान्तिकारीबाट करण मगर, अनेरास्ववियुबाट ईश्वर बन्जाडे, समाजवादी विद्यार्थी (उपेन्द्र यादव)बाट गणपति झा समेत मैदानमा छन् ।
इन्जिनियरिङ क्याम्पसमा मतदाताको कुल सङ्ख्या २ हजार ३६२ छ ।